सशस्त्रमा बढुवा धमाधम

काठमाडौं । सशस्त्र प्रहरी बलले लामो समयदेखि अवरुद्ध बढुवा प्रक्रियालाई धमाधम अघि बढाएको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएपछि उनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई प्रमुख प्राथमिकता दिँदै बढुवा प्रक्रिया धमाधम अघि बढाएका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएकै दिन गृह मन्त्रालय बढुवा समितिको सचिवालयले २९ चैतमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको थियो । सो पदमा बढुवा समिति सचिवालयले ४ वैशाखमा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सिफारिस गरिसकेको छ । केसी महानिरीक्षक नियुक्त भएपछि एक एआईजी पद रिक्त थियो ।

महानिरीक्षक नियुक्त भएको सातौं दिन ५ वैशाखमा उनले ५६ जना निरीक्षक (इन्सपेक्टर)लाई नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेका छन् । निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालकै कार्यकालमा बढुवा सिफारिसको सूचना प्रकाशित भएको भए पनि नाम सिफारिस हुन सकेको थिएन ।

५ वैशाखमै सशस्त्र मुख्यालयले डीएसपीका लागि अर्काे बढुवा सूचना निकालेको थियो । सो सूचनाअनुसार बढुवा समितिको सचिवालयले बुधबार ३१ जनालाई डीएसपीका लागि सिफारिस गरेको छ । यी ८७ जनामध्ये ८५ जना सिसं ६ का इन्सपेक्टर ब्याचका हुन् । इन्सपेक्टरमा नियुक्त भएको १६ वर्ष बितिसक्दा पनि बढुवा हुन नसक्दा उनीहरूमा नैराश्यता बढ्दै गएको थियो ।

पहिलो चरणमा डीएसपीमा सिफारिस ५६ मध्ये एक जना केशवराज अवस्थी सिसं ५ का हुन् । विभागीय कारबाहीका कारण उनको बढुवामा ढिलाइ भएको हो । उनीबाहेक सिसं ५ का सबै जना यसअघि नै बढुवा भइसकेका छन् ।

बुधबार दोस्रो चरणमा बढुवा सिफारिसमा परेका राजेश्वप्रसाद साह भने नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भई आएका हुन् ।

यसैगरी, गृहमन्त्रीस्तरको ६ वैशाखको निर्णयअनुसार साधारण समूह साधारण उपसमूहका तीन, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फका दुई, प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ एक र साधारण समूह, कानुन उपसमूहतर्फ एक जनालाई कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा मुकर्रर गरेका छन् ।

साधारण समूह साधारण उपसमूहतर्फ कामु एसएसपी हुनेमा उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन रहेका छन् । यस्तै, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फका डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ ई. प्रमोदकुमार साह कामु एसएसपी बनेका छन् । साधारण समूह, कानुन उपसमूहतर्फका युवराज अर्याल पनि कायम मुकायम एसएसपी बनेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका सात जना वरिष्ठ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

दज्र्यानी चिह्नबाट सुशोभित हुने कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक केसीले दर्जासँगै प्राप्त भएको जिम्मेवारी निर्वाहमा अझ बढी क्रियाशील रहँदै कार्यसम्पादनमा जुट््न निर्देशन दिएका छन् ।

यसैगरी, सशस्त्र प्रहरी बल प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फका ६ जनालाई डीएसपीमा सिफारिस गरेका छन् । सिफारिसमा पर्नेमा सुनिता श्रेष्ठ, अञ्जली महर्जन, डा. शोभा डंगोल, डा. सन्तोष बजगाईं, डा. अपूर्व श्रेष्ठ र डा. नेत्रबहादुर कार्कीलाई सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी सेवा साधारण समूह, लेखा उपसमूहतर्फ डीएसपीमा बढुवा भएका राजकुमार ढकाललाई मंगलबार दज्र्यानी चिह्न प्रदान गरेका थिए । केसी महानिरीक्षक भएपछि बढुवा हुनेमा ढकाल नै पहिलो अधिकृत हुन् ।

खनाल सशस्त्र प्रहरी महानिरीक्षक हुँदा २१ चैतमा अधिकारीलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

खनालकै कार्यकालमा २३ चैतमा डीएसपीका लागि सिफारिस गरिएका लेखा उपसमूहका १० जनालाई भने अझै पनि दज्र्यानी चिह्न प्रदान गरिएको छैन ।

स्रोतका अनुसार महानिरीक्षक केसी आफ्नै कार्यकालमा एसपी बढुवा निकाल्न लागिपरेका छन् । तर, यसमा गृहमन्त्री र गृहसचिव ‘सकारात्मक’ भइनसकेको स्रोतको दाबी छ । महानिरीक्षक केसी एसपी बढुवामा वरिष्ठता र स्टाफ कलेज उत्तीर्ण गरेकालाई पहिलो प्राथमिकतामा राख्ने मनस्थितिमा छन् । साधारण समूह साधारण उपसमूहमा एसपीको ३३ पद रिक्त छ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित