देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल


डडेल्धुरा । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई सधारण सदस्यबाट निष्कासन गरेको छ ।

मंगलबार काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । ‘नेता मल्लले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विधान विपरीत मल्लले गरेका कामका विषयमा भने खुलाइएको छैन । ‘विधिवत रुपमा पार्टी सञ्चालन हुनुपर्ने भनेर न्यायका लागि संघर्ष गर्दागर्दै राजनीतिक जीवन समाप्त पार्ने दुराषयले अनाहकमा कारवाही गरिएको सञ्चारमाध्यमबाट थाहा पाएँ,’ प्रदेश साँसद मल्लले प्रतिकृया दिदै भने, ‘सम्मानीय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले छैटौं पटकको अथक प्रयासपछि मलाई पार्टीबाट निकाल्न सफल हुनुभएको छ, उँहालाई बधाई दिदैं सहर्ष रुपमा कारवाही स्वीकार गर्दछु ।’

उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले प्रजातान्त्रिक काँग्रेसका पालामा सदस्यताबाट निष्कासन गरेको स्मरणगर्दै काँग्रेस एकीकरण पछि छैटौं पटकको अथक प्रयासपछि कारवाही गर्न सफल भएको बताए । आफु जिल्ला सभापति भएका बेला नेपाली काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएको बताउदै साँसद मल्लले प्रजातान्त्रिक दल भित्रको निरकुंशता खेप्न नसक्ने इमान्दार नेता कार्यकर्ताहरु कारवाहीको शिकार हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको पाँचौं र छौटौं जिल्ला अधिवेशनबाट देउवाले नचाहेरै जिल्ला सभापति बनेका मल्ल डडेल्धुराको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित प्रदेश साँसद हुन । प्रधानमन्त्री देउवाले आफुलाई पटक पटक पार्टीबाट निकाल्न खोजेको मल्लको गुनासो छ । १४औं महाधिवेशनका क्रममा सभापति देउवाले केन्द्रबाटै झण्डै ९ सय बढी क्रियासिल सदस्यता थपघट गरेर तत्कालिन जिल्ला सभापति मल्ललाई कमजोर बनाउने प्रयास भएपछि क्रियासिल सदस्यता विवाद टुंग्याउन माग गर्दै मल्ल नेतृत्वको जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयसम्म पुगेर अनसन सहित विरोधका कार्यक्रम गरेको थियो ।

मल्ल नेतृत्वको जिल्ला कार्यसमितिका अधिकांस पदाधिकारीहरु, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरु र स्थानीय तहका पदाधिकारीहरु राजधानीमा आन्दोलन गरिरहेका बेला एकपक्षीय रुपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएको थियो । आसन्न स्थानीय तहको निर्वाचनका क्रममा पनि मल्ल निकटस्थ नेता कार्यकर्ताहरुलाई टिकटबाट बञ्जित गरिएपछि मल्ल निकटस्थ नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस (बिपी) गठन गरेर एमाल ेसँग चुनावी तालमेल गर्दै निर्वाचनमा होमिएका छन । एमाले र नेपाली काँग्रेस (बिपी) ले चुनावी तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन ।

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका नेपाली काँग्रेस (बिपी) ले र नेकपा (एमाले) ले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।

काँग्रेस सभापति देउवाले अन्तिमसम्म पनि गृहजिल्लाको पार्टी मिलाउनमा चासो नदिनु भएकाले आफूहरू नेपाली कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा होमिएको मल्ल निकटस्थ मानिने निवर्तमान उपसभापति करुणाकर भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 598 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि