बाक्लियो अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण


काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाल तीनदिने नेपाल भ्रमणमा आउने भएकी छन् ।

अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपमन्त्री जियाले ६ जेठदेखि ८ गतेसम्म औपचारिक भ्रमण गर्नेछिन् । जिया नेपाल आउनुअघि भारतको तीनदिने भ्रमण पूरा गर्नेछिन् । स्टेट डिपार्टमेन्टका अनुसार उपविदेशमन्त्री उज्रालाई चीन र दलाई लामा वा उनका प्रतिनिधिबीच निःसर्त वार्ताका लागि संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी छ ।

तिब्बती मामिला हेर्ने अमेरिकी उपमन्त्री जिया नेपाल आउँदै


उपविदेशमन्त्री उज्रा अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’मा नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार हेर्ने प्रमुख अधिकारी हुन् । उज्रासँग ३२ वर्ष अमेरिकी विदेश सेवामा काम गरेको अनुभव छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण बाक्लिएको छ । पछिल्लो समय उपमन्त्री जियाको भ्रमण नेपाल र अमेरिकाको ७५औं कूटनीतिक सम्बन्धलाई जोडेर हेरिए पनि एमसीसी परियोजना अनुमोदनपछि अमेरिकी प्रभाव झनै बढेर गएको छ ।

नेपाल भ्रमणका क्रममा उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतलाई भेट्ने कार्यक्रम रहेको छ । उपमन्त्री जिया तिब्बत मामिलाका मुद्दा हेर्ने भएकाले नेपालमा रहँदा उनले तिब्बती शरणार्थीको विषयमा चासो लिने छिन् । नेपालमा झन्डै १० हजार तिब्बती शरणार्थी रहेका छन् । तिनलाई अमेरिकाले शरणार्थी परिचयपत्र दिनुपर्ने अमेरिकाले आग्रह गर्दै आइरहेको भए पनि नेपालले भने अस्वीकार गर्दै आइरहेको छ ।

उत्तरी छिमेकी चीनसँगको कूटनीतिक सम्बन्धका कारण पनि नेपालले ती शरणार्थीहरूलाई परिचयपत्र दिन सकेको छैन । तिब्बती शरणार्थीको नजिकबाट अमेरिकाले नियाल्न थालेपछि पछिल्लो समय चीनसमेत सतर्क रहेको छ । चीनले केही समयअघि आफ्नो देशमाथि दख्खल पु¥याउने गतिविधि गरे चुप लागेर नबस्ने पटकपटक चेतावनी दिँदै आएको छ । नेपालले यसअघि नै विदेश नीतिअन्तर्गत आफ्नो भूमि कुनै पनि मुलुकलाई प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको छ । त्यसो त नेपालले सन् १९९५ देखि नेपालमा रहेका तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ ।

यसअघि गत वैशाख पहिलो साता अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । वैशाखको ९ देखि ११ सम्म अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका थिए । अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा सिनेटर सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंगेसनल डिस्ट्रिक्ट, न्युयोर्क) काठमाडौं आएका थिए । त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए । सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी सेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता त्यही उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित