१०औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म

काठमाडौं । यसपटक १०औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ को मिति तय भएको छ । यो महोत्सव १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक पक्ष जनाएको छ ।

यो महोत्सव कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त रूपमा आयोजना गर्न लागिएको हो । जसमा नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल तथा महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छन् ।

‘महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ ।’ अध्यक्ष मिश्रले राजधानीसँग भनिन् । कोरोना महामारी मत्थर भएकाले यतिबेला यो महोत्सव गर्न लागिएको पनि उनले बताएकी छन् ।

आयोजक पक्षका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जसमध्ये अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् । महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकमा बुर्किना फाँसो, इजिप्ट, ट्युनेसिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।

महोत्सवमा नेपालबाट ११ वटा लामा छोटा चलचित्र यसपटक छानिएका छन् । जसमध्ये सातवटा चलचित्र खुला प्रतिस्पर्धाअन्तर्गत चयन भएको आयोजक पक्षले जनाएको छ । जसमा राइज, शंका, कुइनेटो, गरिमा, द डटर, द ब्लाक कर्नर, ऐना रहेका छन् ।

यस्तै, यसपटक विद्यार्थीको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । यो प्रतिस्पर्धामा ११ वटा फिल्म आएकोमा चारवटा मात्र चयन भएका छन् । प्रतिस्पर्धामा फिल्म झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आपूmहरूले एक दशकअघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छन्, ‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा