विजय माला लगाउनुअघि आशा जगाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विजयको माला लगाउने तयारीमा रहेका बालेन्द्र (बालेन) साहले विजयको माला लगाउनुअघि काठमाडौंका आफ्ना मतदातालाई आशा जगाउनेगरी सन्देश दिएका छन् ।

बालेनले प्रमुख दल नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै विजयको यात्रा तय गरिसकेका छन् । उनलाई काठमाडौंवासीले आशा र भरोसाका साथ मत दिएको पाइएको छ । त्यसैले बालेनले आफ्नो विजयको औपचारिक घोषणा हुनुअघि नै बुधबार सम्पूर्ण मतदातालाई धन्यबाद दिँदै काठमाडांै बनाउने योजनामा सबै जना मिलेर होस्टेमा हैसै गर्नुपर्ने बताएका छन् ।

बालेनले मंगलबार आफ्नो फेसबुक स्टाटसमार्फत सबैलाई मिलेर अघि बढ्न आग्रह गर्दै अब आफूहरूको पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘अबको हाम्रो यात्रा काठमाडौंको मुहार फेर्न हुनेछ’

बालेनको विजयी घोषणासँगै देशभरबाट युवाहरू विजय ¥याली मनाउन काठमाडौं आउने तयारी गरेका खबर सार्वजनिक भएपछि बालेनले आफ्नो फेसबुक स्टाटसमार्फत कसैलाई पनि काठमाडौं नआउन र आफ्नै गाउँठाउँमा रहेर धन्यवाद ¥यालीको आयोजना गर्न आग्रह गरेका छन् ।

‘ठाउँठाउँबाट -यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि -यालीका लागि काठमाडौं आउने दुःख गर्नुपर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए, हामी खुसी हुनेछौं,’ बालेनले भनेका छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुसियाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद -याली’ गर्नुहोला ।’

उनले यो अभियानलाई नेपालभरको अभियानका रूपमा सन्देश दिनुपर्ने आवश्यकता औंल्याउँदै बालेनहरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने सन्देश दिन पनि आफ्नै गाउँठाउँमा धन्यवाद ¥याली गर्न आग्रह गरेका छन् ।

बालेनले आफ्नो जितलाई कसैको हारसँग नजोड्ने प्रतिबद्धता व्यक्त गर्दै आममतदाताले आफूलाई विश्वास गरेको र विश्वासमा कसैको हार वा जित नहुने स्पष्ट पारेका छन् ।

‘जितहारलाई मतगणना सकिएसँगै सकिदिऔं । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर, अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं,’ बालेनले आग्रह गर्दै भनेका छन् ।

बलेनले आफ्नो विजयपछिको बाटो सहज नहुने विश्लेषण गर्दै अब आफूहरूको अभियानको वास्तविक परीक्षा सुरु हुने बताएका छन् । ‘हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ,’ बालेनले भनेका छन् ।

‘हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको,’ बालेनले भनेका छन्, ‘हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाका लागि हामी सधैं तपाईंहरूसँग जोडिरहेका हुन्छौं । तपाईंहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुनेबित्तिकै हामी आवाज दिनेछौं ।’

‘अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं, हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून्,’ बालेनले जोड दिँदै भनेका छन् ।

बालेन बोली

– सबै मिलेर काठमाडौंको मुहार फेर्नु छ

– सबै मिलेर होस्टेमा हैंसे गरौं

– धन्यवाद जुलुस गाउँमै गर्नुस्

– घोषणापत्र लागू गरेपछि मात्रै विजय जुलुस

– बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुस्

– अभियानलाई देशव्यापी बनाऔं

– यो कसैको पनि हार होइन, सबैको जित हो

तपाइको प्रतिक्रिया
(Visited 462 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियाेगमा युवक पक्राउ