तयारीबिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिँदै

काठमाडौं । सरकारले आवश्यक तयारी र प्रदेशअन्तर्गतका कार्यालयसँग समन्वय नै नगरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागेको छ ।

संघीय सरकारले शुक्रबार एक सूचना जारी गर्दै बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरिसकेको छ । यातायात व्यवस्था विभागले असार मसान्तसम्म इम्बोस्ड प्लेट जडान नगर्ने सवारीसाधनमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

केन्द्रीय सरकारअन्तर्गतको विभागले समयसीमा नै तोकेर नम्बर प्लेट जडान गर्न निर्देशन दिएपछि प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयमा भने आवश्यक तयारी नै नभएको समेत पाइएको छ ।

ती निकायले प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको जस्ता विषयलाई लिएर इम्बोस्ड नम्बर प्लेट जडानमा सक्रियता नदेखाएको समेत पाइएको छ ।

कतिपय कार्यालयहरूले त विभागले प्लेट जडान नगरे सवारी धनीलाई नै कारबाही गर्ने चेतावनीसहित सूचना प्रकाशित गरे पनि सबैलाई तत्काल नम्बर प्लेट दिन सकिने अवस्थासमेत नरहेको बताएका छन् ।

कार्यालयहरूले हाल स्वेच्छिक रूपमा अनलाइन फारम भरेर आउनेहरूलाई मात्रै इम्बोस्ड नम्बर प्लेट जडान सेवा दिँदै आएको छ ।

तर, विभागले छोटो अवधिको समयसीमा तोकिदिँदा प्रभावकारी नहुनेसमेत उनीहरूले तर्क गरेका छन् । कारबाहीको डरले सेवाग्राहीको भिड बढेमा सेवा दिन नसकिने र कोटा संख्या तोकेर सेवा दिनुपर्ने अवस्था आउने कार्यालय बताउँछन् ।

संघीय सरकारले इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्दै गर्दा उक्त नम्बर प्लेटलाई यातायातको मूल प्रणालीले चिन्नेगरी सफ्टवेयर नबनेको र सेवा गुणस्तरीयसमेत नभएको आरोप लाग्दै आएको छ । यसअघि इस्बोस्ड नम्बर प्लेट जडान गरेका सेवाग्राहीले प्लेट जडान गरेको केही दिनमा नै प्लेट खसेको तथा टुटफुट भएको र प्लेट खसेर आएकाहरूलाई फेरि पुरानै दरमा शुल्क तिराएर नम्बर प्लेट दिने गरेको गुनासो छ ।

यातायात व्यवस्था विभागले शुक्रबार असारभित्रमा तोकिएका सबै सवारीमा इम्बोस्ड प्लेटको जडान गराउन बाग्मती र गण्डकी प्रदेशका यातायात कार्यालयलाई निर्देशन दिएको छ । कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सवारीमा अनिवार्य रूपमा इम्बोस्ड जडानको तालिका सार्वजनिक गरेको थियो ।

राजपत्रअनुसार १ मंसिर २०७८ बाट बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने सवारीमा अनिवार्य इम्बोस्ड प्लेट जडान हुनुपर्ने थियो ।

१ फागुन २०७८ देखि सवारी नामसारी गर्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने भनिएको थियो । त्यस्तै, १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा पनि जोड्नुपर्ने व्यवस्था भएको थियो ।

यातायात व्यवस्था विभागले इम्बोस्ड प्लेट जडान गर्न आनाकानी गरेकाले कारबाही गर्नुपर्ने अवस्था आएको बताएको छ । तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको महाकालीमा एमाले र नौगाडमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित