पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
महानगरको ११ औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख आचार्यले पर्यटनलाई केन्द्रमा राखेर महानगरका समस्या सम्बोधन र समाधान खोज्ने बताएका छन् ।
महानगरमा आगामी वर्षमा छाडा चौपाया नियन्त्रण गरी सडकलाई पूर्ण रुपमा छाडा चौपायामुक्त बनाइने, सार्वजनिक पार्किङस्थल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, ल्याण्डफिल, पोखरा सिटी, क्षेत्रीय तथा टुरिस्ट बसपार्क व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा प्राथमिकतामा दिइएको छ । महानगरले ४ वर्षभित्र आफ्नै मेट्रो अस्पताल बनाउने पनि नीति तथा कार्यक्रममा समेटेको छ ।
कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरी कृषकलाई प्राविधिक कृषिमा प्रोत्साहन, पोखरामा उत्पादन हुने बस्तु ब्रान्डिङ गरी पोखरेली ब्रान्डको स्थापना, बेरोजगारीको तथ्यांक संकलन गरी रोजगारीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई तालिमको व्यवस्थापन, पोखराका ३३ वटै वडामा एक उद्योग, एक सहकारीको व्यवस्थापन, खेल क्षेत्रको विकास, उत्कृष्ट खेलाडी सम्मान, गुणस्तरीय र विशेषताकृत अस्पतालको निर्माण, कास्कीमा रहेका तालहरु सौन्दर्यकरण, लेक टु लेक कनेक्टिभिटीको सम्भाव्यता अध्ययन, सार्वजनिक जग्गाको मापदण्ड तय गरिने उल्लेख छ ।
‘पर्यटनस्थल, सम्पदालाई प्राथमिकतामा राखेर काम सुरु गर्ने, कतिपय दीर्घकालीन महत्व राख्ने पोखराको परिचयसँग जोडिएको बहुवर्षीय योजनाहरु पनि छन्,’ १९८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर आचार्यले भने, ‘खासगरी यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने कार्यक्रम रहेको छ ।
कृषि उत्पादनको बजारीकरण,मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म अभियान संचालन गरिने भएको छ । कृषकहरुको पहुँच र पहिचान : व्यावसायिक कृषकको संरक्षण र सम्मान केन्द्रित कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखरालाई स्पोर्टस् टुरिजमका रुपमा विकास गर्न आवश्यक कार्यक्रम अगाडि बढाइने भएको छ भने महानगरका ३३ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ ।