भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू–२० च्याम्पियन्सिपको सुरुवाती २ खेलमा सानदार जित निकालेको नेपालले आफ्नो तेस्रो खेलमा साबिक विजेता तथा घरेलु टोली भारतसँग लज्जास्पद हार बेहोरेको छ ।

नेपाल भारतसँग ८–० ले पराजित भएको हो । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो । पहिलो हाफमा भारतलाई १–० को स्थितिमा रोके पनि नेपाल दोस्रो हाफमा निरीह बन्दा फराकिलो अन्तरको हार बेहोर्न पुग्यो ।

गोलरक्षक ईश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै ३२औं मिनेटमा अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका दिएन । ३२औं मिनेटमा टाइसन सिंह लोइटङ बमले भारतका लागि गोल गरे । बायाँ विंगबाट आएको क्रसबिना कुनै दबाब समाउने क्रममा ईश्वरको हातबाट फुस्किएको बललाई टाइसनले हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको सुरुवातमै भारतले लगातार गोल गर्दै अग्रता बढायो । ५०औं मिनेटमा नेपालले पेनाल्टीको अपिल गरे पनि रेफ्रीले त्यसलाई कुनै मतलब नै गरेन । त्यही स्थितिबाट नेपालको लय गुमेको थियो । ५२औं मिनेटमा पार्थिव गोगोइले गोल गर्दै २–० ले अघि बढाए ।

त्यसको १ मिनेटमै पार्थिवले व्यक्तिगत दोस्रो गोल थपे । ६२औं मिनेटमा पाथुप गिमानाले गोल गर्दैै भारतलाई ४–० ले अघि बढाए । ७१औं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । हिमांशु झांगाले गोल गर्दै स्कोर ५–० बनाए । मोहमद रिकाजले ७८औं मिनेटमा गोल गर्दै ६ गोलले अघि बढाए । गुर्किरत सिंहले ८९औं मिनेटमा गोल गर्दै ७–० बनाए ।

सुभो पलले इन्जुरी समयमा गोल गर्दै ८–० को जित दिलाए । यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भए पनि हेड टु हेडमा भारत अघि छ । भारतसँगको हारका बाबजुद नेपालको फाइनल पुग्ने सम्भावना कायम नै छ ।

नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई कम्तीमा १–० ले हराउनुपर्नेछ । मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

माल्दिभ्स र श्रीलंकाको बराबरी
साफ यू–२० च्याम्पियन्सिपअन्तर्गत माल्दिभ्स र श्रीलंकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस नतिजासँगै दुवै टोलीले प्रतियोगितामा अंकको खाता खोले पनि च्याम्पियनसिपबाट बाहिरिएको छ । माल्दिभ्स ३ खेलमा १ अंक जोड्दै चौथो स्थानमा तथा श्रीलंका ४ खेलमा १ अंकसहित पुछारमा छ ।

माल्दिभ्सले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । माल्दिभ्सले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । ५२औं मिनेटमा माल्दिभ्सले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । ब्याक पासलाई नियन्त्रणमा लिने क्रममा श्रीलंकाका गोलरक्षक सेन बानुका क्रुसले मोहम्मद थासिनमाथि फउल गर्न पुगेका थिए ।

थासिनकै पेनाल्टीलाई गोलरक्षक बानुकाले दोहोरो बचाउ गर्दै माल्दिभ्सको अग्रता टारे । त्यसपछि डिफेन्डरले क्लियर गरेको थियो । ७४औं मिनेटमा एहिहाम हाम्दुनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचांै मिनेटमा थेसान थुसमिकाले गोल गर्दै श्रींलकालाई हारबाट जोगाए ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार