काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ अनुहारको प्रवेश तीव्र भएको छ । आन्दोलनअघि विभिन्न पेशा, सामाजिक अभियान र सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूमध्ये केही एक वर्षभित्र प्रधानमन्त्री, मन्त्री, सांसद तथा राजनीतिक दलका पदाधिकारीसम्म पुगेका छन् ।
कार्यकारी भूमिकामा विज्ञदेखि अभियन्तासम्म
बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् भने सुधन गुरुङ र महावीर पुन दुईपटक मन्त्री भइसककेका छन् । पत्रकार जगदीश खरेल सांसद तथा रास्वपा प्रवक्ता बनेका छन् ।
आन्दोलनपछि बनेको अन्तरिम सरकारमा परम्परागत दलगत राजनीतिबाहिरका व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारी दिइयो । सुशीला कार्की प्रधानमन्त्री, कुलमान घिसिङ, मदनप्रसाद परियार, ओमप्रकाश अर्याल, सुधा शर्मा, राजेन्द्रसिंह भण्डारी, जगदीश खरेल, बब्लु गुप्तालगायत मन्त्री बने ।
जेनजी आन्दोलनले सरकार परिवर्तनसँगै राज्यसत्तामा प्रवेश गर्ने पात्रको आधारसमेत परिवर्तन गरिदिएको छ । आन्दोलनअघि राजनीतिक दल, लामो राजनीतिक सक्रियता वा निर्वाचनमार्फत मात्र सत्तामा पुग्ने परम्परा भत्काउँदै अभियन्ता, प्राविधिक, पत्रकार तथा विज्ञ पनि कार्यकारी जिम्मेवारीमा पुगेका छन् ।
बालेन शाहः मेयरबाट प्रधानमन्त्री
आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आन्दोलनका प्रत्यक्ष अगुवा थिएनन् । तर आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणमा उनी प्रधानमन्त्री बने । अहिले उनकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।
शाहको यात्रा आन्दोलनपछि राजनीतिक रूपमा सबैभन्दा ठूलो उछालको उदाहरण बनेको छ । मेयरबाट प्रधानमन्त्रीसम्म पुगेका उनीसँग अब जेनजीले उठाएका राजनीतिक तथा सुशासनका मुद्दालाई राज्यको नीतिमा रूपान्तरण गर्ने जिम्मेवारी छ ।
सुधन गुरुङः अभियन्ताबाट गृहमन्त्री
सामाजिक अभियन्ताका रूपमा सक्रिय सुधन गुरुङ जेनजी आन्दोलनका सक्रिय परिचालनकारीमध्ये थिए । आन्दोलनपछि उनी राजनीतिमा प्रवेश गरे, सांसद बने र गृहमन्त्रीको जिम्मेवारी पाए ।
२०८३ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङ २६ जेठमा पुनः त्यही मन्त्रालयमा फर्किए । आन्दोलनमा राज्यको जवाफदेहिताको माग गर्ने अभियन्ता स्वयं गृह प्रशासनको नेतृत्वमा पुग्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्ष हो ।
महावीर पुन : आविष्कारबाट सरकार
विज्ञान, प्रविधि तथा आविष्कारका अभियन्ता महावीर पुन आन्दोलनका प्रत्यक्ष अगुवा थिएनन् । आन्दोलनपछि उनी अन्तरिम सरकारमा मन्त्री बने । मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गरेपछि उनी फेरि सरकारमा फर्किएका छन् ।
२६ जेठमा पुनः विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बने । यसले गैरदलीय तथा प्राविधिक पृष्ठभूमिका व्यक्तिलाई राज्यसत्तामा ल्याउने जेनजीपछिको प्रयोगलाई प्रतिनिधित्व गर्छ ।
जगदीश खरेलः पत्रकारबाट सांसद हुँदै प्रवक्ता
पत्रकार तथा टेलिभिजन प्रस्तोता जगदीश खरेल आन्दोलनपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बने । त्यसपछि निर्वाचनमा सहभागी भएर सांसद बनेका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारीमा छन् ।
खरेलको यात्रा सार्वजनिक तथा पेशागत पहिचानबाट राजनीतिमा प्रवेश गरी छोटो अवधिमै कार्यकारी जिम्मेवारी र निर्वाचित राजनीतिक भूमिकासम्म पुगो छन् ।
बब्लु गुप्ताः जेनजी पुस्ताको प्रतिनिधित्व
सामाजिक अभियन्ता बब्लु गुप्ता आन्दोलनपछि अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बने । २८ वर्षको उमेरमै मन्त्री बनेका गुप्ता अहिले प्रतिनिधिसभा सदस्य छन् ।
उनको राजनीतिक यात्रा जेनजी पुस्ताले उठाएको युवाको प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिताको प्रत्यक्ष उदाहरणका रूपमा लिने गरिएको छ ।
कुलमान घिसिङः प्राविधिकबाट राजनीतिज्ञ
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ आन्दोलनका अगुवा थिएनन् । ऊर्जा क्षेत्रमा बनाएको सार्वजनिक छविका आधारमा परिचित घिसिङ आन्दोलनपछि अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकाससम्बन्धी मन्त्रालयको जिम्मेवारीमा पुगे ।
पछि मन्त्री पदबाट राजीनामा दिएर उनी प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा गए । उनको यात्रा लोकप्रिय गैरदलीय व्यक्तित्व राजनीतिक शक्तिका रूपमा स्थापित हुने प्रयासको उदाहरण बनेको छ ।

परियारदेखि बमसम्म
आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सामाजिक न्याय तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय मदनप्रसाद परियार कृषिमन्त्री बने । पछि उनले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाले । कानुन व्यवसायी ओमप्रकाश अर्याल गृहमन्त्री बने । स्वास्थ्य क्षेत्रकी विज्ञ सुधा शर्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनिन् । पूर्वसुरक्षा अधिकारी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने ।
यी नियुक्तिले आन्दोलनपछि दलगत राजनीतिभन्दा बाहिरका पेशागत तथा विशेषज्ञ व्यक्तिलाई कार्यकारी जिम्मेवारीमा ल्याउने अभ्यास भएको देखाउँछ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्की आन्दोलनकी नेता थिइनन् । तर आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणमा उनी अन्तरिम प्रधानमन्त्री बनिन् । राजनीतिक दलभन्दा बाहिरको व्यक्तित्वलाई सरकारको नेतृत्वमा ल्याइएको यो घटना जेनजी आन्दोलनपछि भएको सत्ता पुनर्संरचनाको महत्वपूर्ण पक्ष हो ।
आन्दोलनका सक्रिय युवा अनुहार रक्षा बमको यात्रा भने फरक छ । आन्दोलनपछि केही युवा सत्तामा पुगे पनि उनी सरकार वा संसद् प्रवेश गरिनन् । उनी आन्दोलनका मुद्दा र सरकारका काममाथि प्रश्न उठाउने भूमिकामै छिन् ।
सम्बन्धित समाचार
फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’
रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने
प्रधानमन्त्री बाढी प्रभावित विदुरमा
प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद् सम्बन्धमा सभामुखले विशेष प्रस्ताव पेस गर्ने
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय लैजाने विधेयक पारित
जसपा नेपालले पाँच प्रदेशसभा सदस्यसहित स्थानीय तहका दुई दर्जन जनप्रतिनिधिमाथि चलायो कारबाहीको डन्डा
प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´






