जेनजी आन्दोलनले जन्माएका नेता

काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ अनुहारको प्रवेश तीव्र भएको छ । आन्दोलनअघि विभिन्न पेशा, सामाजिक अभियान र सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूमध्ये केही एक वर्षभित्र प्रधानमन्त्री, मन्त्री, सांसद तथा राजनीतिक दलका पदाधिकारीसम्म पुगेका छन् ।

कार्यकारी भूमिकामा विज्ञदेखि अभियन्तासम्म

बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् भने सुधन गुरुङ र महावीर पुन दुईपटक मन्त्री भइसककेका छन् । पत्रकार जगदीश खरेल सांसद तथा रास्वपा प्रवक्ता बनेका छन् ।

आन्दोलनपछि बनेको अन्तरिम सरकारमा परम्परागत दलगत राजनीतिबाहिरका व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारी दिइयो । सुशीला कार्की प्रधानमन्त्री, कुलमान घिसिङ, मदनप्रसाद परियार, ओमप्रकाश अर्याल, सुधा शर्मा, राजेन्द्रसिंह भण्डारी, जगदीश खरेल, बब्लु गुप्तालगायत मन्त्री बने ।

जेनजी आन्दोलनले सरकार परिवर्तनसँगै राज्यसत्तामा प्रवेश गर्ने पात्रको आधारसमेत परिवर्तन गरिदिएको छ । आन्दोलनअघि राजनीतिक दल, लामो राजनीतिक सक्रियता वा निर्वाचनमार्फत मात्र सत्तामा पुग्ने परम्परा भत्काउँदै अभियन्ता, प्राविधिक, पत्रकार तथा विज्ञ पनि कार्यकारी जिम्मेवारीमा पुगेका छन् ।

बालेन शाहः मेयरबाट प्रधानमन्त्री
आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आन्दोलनका प्रत्यक्ष अगुवा थिएनन् । तर आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणमा उनी प्रधानमन्त्री बने । अहिले उनकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।

शाहको यात्रा आन्दोलनपछि राजनीतिक रूपमा सबैभन्दा ठूलो उछालको उदाहरण बनेको छ । मेयरबाट प्रधानमन्त्रीसम्म पुगेका उनीसँग अब जेनजीले उठाएका राजनीतिक तथा सुशासनका मुद्दालाई राज्यको नीतिमा रूपान्तरण गर्ने जिम्मेवारी छ ।

सुधन गुरुङः अभियन्ताबाट गृहमन्त्री
सामाजिक अभियन्ताका रूपमा सक्रिय सुधन गुरुङ जेनजी आन्दोलनका सक्रिय परिचालनकारीमध्ये थिए । आन्दोलनपछि उनी राजनीतिमा प्रवेश गरे, सांसद बने र गृहमन्त्रीको जिम्मेवारी पाए ।

२०८३ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङ २६ जेठमा पुनः त्यही मन्त्रालयमा फर्किए । आन्दोलनमा राज्यको जवाफदेहिताको माग गर्ने अभियन्ता स्वयं गृह प्रशासनको नेतृत्वमा पुग्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्ष हो ।

महावीर पुन : आविष्कारबाट सरकार
विज्ञान, प्रविधि तथा आविष्कारका अभियन्ता महावीर पुन आन्दोलनका प्रत्यक्ष अगुवा थिएनन् । आन्दोलनपछि उनी अन्तरिम सरकारमा मन्त्री बने । मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गरेपछि उनी फेरि सरकारमा फर्किएका छन् ।

२६ जेठमा पुनः विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बने । यसले गैरदलीय तथा प्राविधिक पृष्ठभूमिका व्यक्तिलाई राज्यसत्तामा ल्याउने जेनजीपछिको प्रयोगलाई प्रतिनिधित्व गर्छ ।

जगदीश खरेलः पत्रकारबाट सांसद हुँदै प्रवक्ता
पत्रकार तथा टेलिभिजन प्रस्तोता जगदीश खरेल आन्दोलनपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बने । त्यसपछि निर्वाचनमा सहभागी भएर सांसद बनेका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारीमा छन् ।

खरेलको यात्रा सार्वजनिक तथा पेशागत पहिचानबाट राजनीतिमा प्रवेश गरी छोटो अवधिमै कार्यकारी जिम्मेवारी र निर्वाचित राजनीतिक भूमिकासम्म पुगो छन् ।

बब्लु गुप्ताः जेनजी पुस्ताको प्रतिनिधित्व
सामाजिक अभियन्ता बब्लु गुप्ता आन्दोलनपछि अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बने । २८ वर्षको उमेरमै मन्त्री बनेका गुप्ता अहिले प्रतिनिधिसभा सदस्य छन् ।

उनको राजनीतिक यात्रा जेनजी पुस्ताले उठाएको युवाको प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिताको प्रत्यक्ष उदाहरणका रूपमा लिने गरिएको छ ।

कुलमान घिसिङः प्राविधिकबाट राजनीतिज्ञ
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ आन्दोलनका अगुवा थिएनन् । ऊर्जा क्षेत्रमा बनाएको सार्वजनिक छविका आधारमा परिचित घिसिङ आन्दोलनपछि अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकाससम्बन्धी मन्त्रालयको जिम्मेवारीमा पुगे ।

पछि मन्त्री पदबाट राजीनामा दिएर उनी प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा गए । उनको यात्रा लोकप्रिय गैरदलीय व्यक्तित्व राजनीतिक शक्तिका रूपमा स्थापित हुने प्रयासको उदाहरण बनेको छ ।

परियारदेखि बमसम्म
आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सामाजिक न्याय तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय मदनप्रसाद परियार कृषिमन्त्री बने । पछि उनले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाले । कानुन व्यवसायी ओमप्रकाश अर्याल गृहमन्त्री बने । स्वास्थ्य क्षेत्रकी विज्ञ सुधा शर्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनिन् । पूर्वसुरक्षा अधिकारी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने ।

यी नियुक्तिले आन्दोलनपछि दलगत राजनीतिभन्दा बाहिरका पेशागत तथा विशेषज्ञ व्यक्तिलाई कार्यकारी जिम्मेवारीमा ल्याउने अभ्यास भएको देखाउँछ ।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की आन्दोलनकी नेता थिइनन् । तर आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणमा उनी अन्तरिम प्रधानमन्त्री बनिन् । राजनीतिक दलभन्दा बाहिरको व्यक्तित्वलाई सरकारको नेतृत्वमा ल्याइएको यो घटना जेनजी आन्दोलनपछि भएको सत्ता पुनर्संरचनाको महत्वपूर्ण पक्ष हो ।

आन्दोलनका सक्रिय युवा अनुहार रक्षा बमको यात्रा भने फरक छ । आन्दोलनपछि केही युवा सत्तामा पुगे पनि उनी सरकार वा संसद् प्रवेश गरिनन् । उनी आन्दोलनका मुद्दा र सरकारका काममाथि प्रश्न उठाउने भूमिकामै छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप