काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा राखिएको छ ।
यसैगरी अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव हरि मैनाली उपराष्ट्रपतिको कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्लीराम शर्मालाई महिलामा सरुवा गरिएको छ । सरकारले बिहीबार मात्रै बढुवा भएका डा. दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने बिन्दु विष्टलाई महालेखा परीक्षकको कार्यालयमा पदस्थापन गरेको छ ।
सरकारले अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रिक्त राखेको छ । सरकारको यो निर्णय सँगै अब दुई सचिव पद रिक्त छन् भने एक जनाको बढुवा सिफारिस हुँदै छ र एक जना जगेडामा छन् । सरुवा तथा पदस्थापन गरिएका सचिवहरुको पत्र केही बेरअघि मात्रै तयार भएको छ भने कतिपय सचिवहरुले बुझिसकेका छन् । हिजोको मन्त्रिपरिषद बैठकमा सचिव सरुवा’bout मोटामोटी छलफल भएपनि पत्र बनुन्जेल केही सचिवहरुको फेरबदल भएको छ ।