गुल्मी । गुल्मीकै शैक्षिक धरोहरको रुपमा चिनिएको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरिएको छ । क्याम्पस संचालन गर्न रकम अभाव भएपछि क्याम्पसले संकटकाल नै घोषणा गरेको हो । सोमबार बसेको बैठकले क्याम्पसलाई संकटकाल घोषणा गर्दै अध्यापनरत प्रध्यापक एवम् कर्मचारीको सेवा–सुविधामा समेत कटौती गरेको छ ।
क्याम्पसका प्रध्यापक एवम् कर्मचारीहरुले आठ महिनादेखिको तलब पाएका छैनन् । क्याम्पसलाई सहयोगको लागि प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरुको अतिरिक्त सुविधा कटौती गर्ने एवम् उपदान र उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरिएको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । संकटकाल अवधिभर प्रध्यापक एवम् कर्मचारी संचित बिदा बस्न नपाउने, बिदा बसेपनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालयअन्तरगत संचालन हुने परीक्षाको सुविधा सहयोग माग्ने पनि निर्णय गरिएको भलामीले बताए ।
संचालक समितिको बैठकले सहायक क्याम्पस प्रमुखहरुलाई राजिनामा दिन आग्रह गरेको छ । अहिले गोविन्द गौतम र गुणनिधि शर्मा सहायक–क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका छन् । सहायक–क्याम्पस प्रमुखहरुको राजिनामापछि सबै प्रशासनिक काम क्याम्पस प्रमुख हरी बहादुर खत्रीले गर्ने निर्णय गरिएको छ । सेवाको उमेरहद परिमार्जन गर्ने र अध्ययनमा बेतलबी बस्नेहरुको उमेरहद घटाउने निर्णय गरेको छ । क्याम्पस संचालक समितिका निर्णयहरु कार्यान्वयनका लागि संचालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ ।
डेढ करोड बढी पारिश्रमिक बाँकी
क्याम्पस प्रशासनले ०७८ पुसदेखि अहिलेसम्मको एक करोड ५८ लाख ५६ हजार प्राध्यापक एवं कर्मचारीहरूलाई पारिश्रमिक उपलब्ध गराउन बाँकी रहेको छ । प्रशासन शाखा चनक कुँवरका अनुसार क्याम्पसमा ३४ जना पूर्णकालीन प्राध्यापक एवम् कर्मचारी र १० जना आंशिक प्रध्यापकहरु रहेका छन् । कोभिडदेखि नै विद्यार्थीहरूको संख्या कम र सेमेस्टर नै खप्टिएकाले आर्थिक संकट सुरु भएको कुँवरको भनाइ छ । क्याम्पसमा पछिल्लो समय ‘प्लस टु’ मा भर्ना हुने विद्यार्थीहरूको संख्या निकै कम रहेको छ । गत वर्ष कक्षा ११ मा ३० जना विद्यार्थी मात्रै भर्ना भएका थिए । १८ भदौमा क्याम्पसले विशेष साधारणसभाको आयोजना गरेको पनि कुँवरले बताए ।
हामीलाई जानकारी नै छैन : प्रध्यापक
सहायक क्याम्पस प्रमुख गोविन्द गौतमले संचालक समितिको निर्णय’bout आफुलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । आफ्नो राजिनामाको बिषय पनि पत्रकारले फोन गरेपछि थाहा पाएको उनले बताए । समितिको निर्णय खासै चित्तबुझ्दो नभएपनि क्याम्पसलाई फाइदा हुनेभए आफु राजिनामा दिन तयार भएको गौतमले बताए । प्राध्यापक संघका सभापति यमबहादुर क्षेत्रीले क्याम्पसको यस्तो निर्णय दुःखद भएको प्रतिक्रिया दिएका छन् । उनले सञ्चालक समितिले एकलौटी रूपमा गरेको निर्णय आफूहरूलाई मान्य नहुने बताए ।
विद्यार्थीभन्दा कर्मचारी बढी भर्ती गरियो : स्ववियु
सामुदायिक क्याम्पसको यो दुर्दशा र निर्णयप्रति अहिले आलोचना सुरु भएको छ । क्याम्पसका स्ववियु सचिव नवीन अर्यालले संचालक समिति र क्याम्पस प्रमुखले विद्यार्थीको संख्यालाई भन्दा आफ्ना पार्टीनिकट शिक्षक कर्मचारी राखेर क्याम्पसलाई कंगाल बनाएको आरोप लगाए । अर्यालले अनावश्यक शुल्क बढाउने, विद्यार्थीहरु आकर्षित गर्न कुनै पहल नगर्ने र आर्थिक चलखेलको लागि भौतिक संरचनामा जोड दिएका कारण अहिलेको दुर्भाग्य निम्तिएको बताए ।
आङ्गिक पनि हुन सकेन
क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट आङ्गिक बनाउने भनेपनि अहिलेसम्म भएको छैन । अढाई बर्षअघि तत्कालिन श्रम मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्ण विष्टको पहलमा आङ्गिक बनाउने भनेर हल्ला चलाइयो । केन्द्रमा आङ्गिक भएको निर्णय हुँदा क्याम्पसमा विद्यार्थीहरुले मैनबत्ति बालेर खुसि बाँडे । तर अहिले उक्त निर्णय समेत कार्यान्वयन हुन नसकेको क्याम्पस प्रमुख हरी बहादुर खत्रीले बताए ।






