काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन् । उनीसहित सैयौं नेताकार्यकर्तासमेत एमाले फर्किएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रहेका राईलगायत नेताले केही दिनअघि पार्टीबाट राजीनामा दिएका थिए । एमाले केन्द्रीय कार्यालय ललितपुर, च्यासमा बुधबार आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गरेका छन् ।
जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राईसहित केन्द्रीय सदस्यहरू शान्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकरबहादुर सार्कीलगायत एमाले प्रवेश गरेका हुन् ।
१० संघीय परिषद् सदस्य, १९ प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जनसंगठन केन्द्रीय समिति पदाधिकारी तथा सदस्य, ४५ जिल्ला तथा स्थानीय तहका पदाधिकारी पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।
प्रदेश १ भोजपुरका हेमराज सो क्षेत्रकै पुराना कम्युनिस्ट नेता मानिन्छन् । जसपाभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विवाद चर्किंदै गएर एकअर्कोलाई कारबाही प्रक्रिया सुरु भएपछि राई कसैको पक्षमा उभिएनन् । गत ९ साउनमा उनी पार्टीबाट राजीनामा दिएर पुरानै घर एमालेमा फर्किने तयारी गर्दै नेतासँग छलफल अघि बढाएका थिए ।
२०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योगमन्त्री थिए । एमालेमा रहेर लामो समय राजनीति गरेका उनी १८ असोज २०६९ मा जसपा संघीय परिषद् अध्यक्ष अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए । एमालेभित्र वैचारिक, सैद्धान्तिक तथा कार्यशैलीप्रति ‘फरक मत’ राख्दै उनीहरूले त्यसबेला एमाले परित्याग गरेका थिए ।
ओलीले आक्रोशित
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिएको नागरिकता विधेयकमा पुनर्विचार नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । गठबन्धनमा आबद्ध दललाई ‘टाउकोमा खोपडी नभएकाहरू’ भन्दै उनले आलोचनासमेत गरेका छन् ।
‘गठबन्धनका पार्टी होलान् नि संसद्मा । त्यहाँ बहस गरे हुन्छ नि † अनि बाहिर यसै फिर्ता गर्ने निर्णय भइसक्यो त उनीहरूको । कस्तो संसदीय अभ्यास हो ? विचारविमर्श नगर्ने, सोझै पठाइदिने, जस्ताको तस्तै । कुरा राम्रा नराम्राको मतलब छैन । हाम्रो पाखुराको कुरा हो यो,’ ओलीले भने, ‘यस्तालाई सरकारमा राख्नुहुन्छ नेपाली जनताले ? टाउकामा खोपडी नभएका, पाखुरामा मसल मात्रै भएकाहरू हुन्, खोपडीहीन मसले । यस्ता मसले, तिघ्राको मात्रै भाषा बोल्ने । यस्ताहरूलाई सरकारमा राखेर देश चल्छ ? यो दुर्भाग्यबाट देशलाई बचाउनुपर्छ ।’