राजधानी समाचारदाता
काठमाडौं । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले दुई जनालाई दोषी ठहर गरेको हो । दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना सजाय सुनाइएको छ ।
सडक निर्माणमा २५ लाख अनियमितता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ माघ २०७६ मा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना गरेको अनुसन्धानमा खुलेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यादव र मण्डलका साथै पूर्वाधार विकास कार्यालय सिराहाका तत्कालीन कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादवका साथै राजपाका केन्द्रीय सदस्य वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई प्रतिवादी बनाएको थियो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख गोइत तथा पूर्वसांसद यादव र राजपा केन्द्रीय सदस्य मण्डलले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो । उनीहरूले नक्कली व्यक्ति खडा गरी फर्जी उपभोक्ता समिति गठन गरेको र सो कार्यमा नायब सुब्बा कृष्णकुमार यादवको पनि संलग्नता रहेको अख्तियार अनुसन्धानको निष्कर्ष थियो ।
साथै उनीहरूले सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको कार्य गर्न गठित उपभोक्ता समिति गठनमा पनि फर्जी काम भएको अख्तियारको निष्कर्ष थियो । सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिका पदाधिकारीको नागरिकतामा विवरण सच्याएको भेटिएको थियो ।






