रामेछाप । जिल्लामै पहिलो पटक नमूना रकेट प्रक्षेपण गर्न कर्कलादेवी ईङ्लिस बोर्डिङ स्कुल (केब्स) सफल भएको छ ।
मन्थली नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय मावि तहको विज्ञान प्रर्दशनी प्रतियोगितामा ‘केब्स’ले ‘नमूना रकेट’ प्रक्षेपण गरेको हो ।
जिल्लामा पहिलो पटक भएको यो कार्यक्रममा ‘केब्स’ स्कूल प्रथम भएको छ । विद्यार्थीले सफल रुपमा ‘नमूना रकेट’ उडाएर जिल्लामै नमुना काम गरेको केब्सका प्रधानाध्यापक केशव प्रसाद तिम्लसिनाले बताए ।
नगरभित्रका २२ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा कर्कलादेवी ईङ्लिस बोर्डिङ स्कुल प्रथम, तामाकोशी बोर्डिङ् स्कूल मन्थली दोस्रो, लिटिल स्टार बोर्डिङ स्कूल मन्थली तेस्रो भएका छन् । प्रथम हुनेले नगद १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्राप्त गरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताए । त्यस्तै भैरबी मावि सुनारपानीले सान्त्वना स्थान हाँसिल गरेको छ । उसले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । ‘यो पैसा विद्यार्थीहरुलेनै पाउने गरि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ, पौडेलले भने ।’
नमूनाको रुपमा विद्यार्थीले तयार पारेका प्रयोगात्मक सामाग्रीहरु निकै उत्कृष्ठ, प्रंशसा योग्य र आकर्षक देखिएको थियो । विद्यार्थीहरूले जलविद्युत उत्पादन गृह (हाइड्रोपावर), नमूना रकेट, निश्चित भूगोल, क्षेत्र, आधुनिक प्रविधिहरुलाई जस्ताको तस्तै तयार पारेका थिए ।






