काठमाडौं बनस्थलीका रामशरण बजगाईंलाई ‘दसैं खर्च कसरी पु-याउने ?’ भन्ने चिन्ता छ । २८ वर्षदेखि बालाजु औद्योगिक क्षेत्रभित्रको ह्युम पाइप कारखानामा श्रमरत बजगाईंलाई चामल, आँटा मैदा, गेंडागुडी मरमसला र मासुको भाउ अचाक्ली बढेपछि ‘दसैं खर्च कसरी पु¥याउने ?’ भन्ने चिन्ताले सताएको हो ।
हरेक दिन बिहान साढे ९ देखि साँझ ५ बजेसम्म मजदुरी काम गर्दा मासिक हात पर्छ, २४ हजार । अरु काम छैन । तीन सन्तानको पढाई शुल्क तिर्न र श्रीमतीसहित दैनिक घरखर्च धान्नै मुस्किल छ, बजगाईंलाई । अस्वभाविक रूपमा बढेको बजार भाउले त अझ बढी सताएको छ ।
काठमाडौं नयाँबजारका हरि श्रेष्ठ पनि दसैंको बेला व्यापारीले आफूखुसी मनलाग्दी ढंगले बढाएको चामल, मसलालगायत उपभोग्य वस्तुको मुल्यले दसैं मनाउँदै नसकिने अवस्था आएको बताउँछन् ।
लैनचौरकी लक्ष्मीमैयाँ शाक्य गत एक सतादेखि खुद्रा किराना पसलेले बढाएको चामल, चिउरा, आँटा, मैदा र मसलाजन्य वस्तुको बजार भाउले ‘दसैं धेरै महंगो’ बनाएको गुनासो गर्छिन् ।
बजगाईं, श्रेष्ठ र शाक्य त प्रतिनिधि पात्रमात्र हुन् । उनीहरूले मात्र नभएर आमउपभोक्ता एक सातादेखि अस्वभाविक रूपमा बढाइएको खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यले दसैंको बेला चर्को मारमा परेको गुनासो गर्छन् । सरकारले बेलैमा मूल्यवृद्धि नियन्त्रण गर्न नसकेका कारण दसैंमा उपभोक्ताले अनावश्यक अत्यधिक मूल्यवृद्धि खेप्न बाध्य हुनुपरेको उनीहरू बताउँछन् ।
काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ जनजागृति चोकस्थित खैराबाङ मिट सपका मासु व्यवसायी दीपक केसी विगतका भन्दा यो दसैं निकै महंगो भएको सुनाउँछन् । व्यापारीले खसीबोकाको मूल्य जिउँदो प्रतिकेजी ७ सय ५० सम्म पु¥याएको उनले बताए । उनका अनुसार जसमध्ये जिउँदो भारतीय खसीबोकाको मूल्य प्रतिकेजी ७ सय ५० सम्म र पहाडिया लोकल खसीबोकालाई प्रतिकेजी ६ सय ५० देखि ७ सय २० सम्ममा विक्री भइरहेको छ ।
अहिले तयारी खसीबोकाको मासुको १ हजार ३ सयदेखि १ हजार ४ सयमा बिक्री भइरहेको छ । तयारी बोइलर कुखुराको मासु प्रतिकेजी ३ सय ७० देखि ४ सय, तयारी प्यारेन्ट कुखुराको मासु प्रतिकेजी ५ सय ५० सम्म, लोकल कुखुराको तयारी मासु प्रतिकेजी ७ सयदेखि १ हजार ५० सम्म विक्री पर्छ ।
खसीबोकाको मूल्य सस्तो हुनुपर्ने अपेक्षा गरिए पनि दसैंमा व्यवसायीले गत एक सातादेखि नै अस्वभाविक रूपमा मूल्य बढाइदिएकाले नियमित ग्राहकलाई मासु उपलब्ध गराउन नसकिएको उनको गुनासो छ ।
…
काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ जनजागृति चोकस्थित जलविनायक खाद्य स्टोरका एलिजा थापा पनि दसैंको मौका छोपेर थोक व्यवसायीले चामल, मसला, आँटा, मैदामा अत्यधिक मूल्यवृद्धि गरेको बताउँछिन् ।
उनका अनुसार अहिले २५ केजीको जिरामसिनो चामलको भाउ बढेर २ हजार १ सयदेखि २ हजार २ सयसम्म पुगेको छ । एक साताअघिसम्म सो चामलको मूल्य प्रतिबोरा १ हजार ६ सयमात्र थियो ।
एक साताअघिसम्म दुई हजारमा पाइने लङग्रेन (लामोसिता) भएको २० केजीका बोराको ३ हजारदेखि ३१ सयसम्म पु¥याइएको छ । मसलाजन्य, जराको मूल्य प्रतिकेजी ५ सय ५०, धनियाँको ३ सय, चिनी प्रतिकेजी सयदेखि १ सय १० सम्ममा विक्री भइरहेको छ ।
थोक व्यवसायीले आँटा, मैदा, चिउरा, गेंडागुढी, हरियो तरकारी र कोकाकोला, पेप्सीलगायत चिसो पेयपदार्थको भाउसमेत अत्यधिक बढाएका छन् ।
…
सामान्य उपभोक्ता, साना व्यवसायीमात्र नभएर उपभोक्ता अधिकारकर्मी समेत सरकारले बेलैमा मूल्यवृद्धि नियन्त्रण प्रयास नगरिदिएका कारण दसैं अत्यधिक महंगो भएको दावी गर्छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष प्रेमलाल महर्जन बजार भाउ एकदमै अकासिएको बताउ“छन् । बिचौलिया व्यापारीमाथि कारबाही एवं अनुगमनमा सरकार कमजोर भएकाले मौका छोपिएको उनको भनाई छ ।
महर्जनका अनुसार छिमेकी देश भारतले खाद्यान्न निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएको बहानामा नेपालका व्यापारीले आफूखुसी उपभोग्य वस्तुको मूल्य अत्यधिक बढाएर दसैंका बेला उपभोक्ताको ढाड सेकिदिएको छ ।
एक साताअघिसम्म प्रतिबोरा १५÷१६ सयमा पाइने २५ केजीको जिरा मसिनो चामल अहिले २२ सयमा विक्री गरिरहेको उनले जानकारी गराए । चिनीको मूल्यसमेत अस्वभाविक रूपमा बढाएर १ सय ३० सम्म पु-याइएको छ ।
संघीय सरकार बसेको सिंहदरबार अनामनगर क्षेत्रमै मंगलबार एक खुद्रा व्यापारीले एक केजी चिनीलाई १ सय ३० मा बेच्दासमेत महंगी नियन्त्रणमा सक्रिय देखिनुपर्ने सरकार चुपचाप बसेको महर्जनको गुनासो छ ।
बजारमा खुलेआम भइरहेको मूल्यवृद्धि नियन्त्रणमा सरकार चुकेकैले उपभोक्ता दैनिक उपभोग्य वस्तुलगायत सामानमा ठगिइरहेका छन् ।
हाल, खाद्यान्न, कपडा, विद्युतीय सामानमा मात्र नभएर मासु खरिद गर्ने क्रममा समेत उपभोक्ताले अत्यधिक बढी मूल्य तिर्नुपरेको छ । उपभोक्ता अधिकारकर्मी महर्जन काठमाडौं बजारमा एक साताको अवधिमै व्यापारीले चामल, दाल, चिनी, मासु जिरा मसला, कुखुराको अण्डा र हरियो तरकारीमा चरम मूल्यवृद्धि गरिएको दावी गर्छन् ।
…
नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल पनि दसैंमा उपभोग्य वस्तुरूको मूल्य ३० देखि ४० प्रतिशत महंगो भएको जानकारी दिन्छन् । महंगी बढेको बेला स्वयं उपभोक्ता सचेत हुनुपर्ने उनको सुझाव छ । स्वदेशी वस्तु उपभोग गरिदिएको खण्डमा भने महंगी केही घट्ने उनको विश्वास छ ।
चेम्बर वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले विगतका वर्षभन्दा अहिलेको दसैंमा झन्डै ४० प्रतिशतसम्म महंगी बढेको बताए । पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ अत्यधिक महंगो भएकाले पनि दसैं थप महंगो भएको उनको तर्क छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १ सय ३० रुपैयाँ ९० पैसा पुगेको छ । यो नेपालको इतिहासमा हालसम्मकै उच्च हो ।
नेपाली मुद्रा कमजोर हुँदा विदेशबाट आयात हुने सामान महंगो भएको हो । अधिकांश सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले नेपाल आउने सबै सामान बढ्दो डलरको भाउका कारण थप महंगो भएको देखिन्छ ।
डलरको भाउ अकासिएर निरन्तर नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा भुक्तानी दायिŒव बढ्नेमात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमै कमी आउँछ । समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा मुलुकलाई पर्ने नोक्सानी धेरै रहेको सरोकारवाला बताउँछन् ।
लगातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महंगी बढाउने र जनजीवन प्रभावित पार्ने गर्छ ।
नेपालीको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।
रसिया र युक्रेन युद्धका कारण संसारभरकै अर्थतन्त्रमा चाप परेको तथा अमेरिकाको फेडरल रिजर्भले अगाडि सारेको नीतिका कारण पनि विश्वरभर डलर बलियो बन्दै गएको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार अमेरिकी डलरको मूल्यमा भएको लगातार वृद्धिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ ।
नेपाल आयातमुखी अर्थतन्त्रमा आधारित देश भएकाले पनि डलरको मूल्य बढ्दा त्यसले माल वस्तु आयातमा बढी मूल्य तिर्नुपर्ने अवस्था आएको छ ।
निर्यात मात्रा ३० प्रतिशतभन्दा माथि रहेकोे भए डलरको मूल्य बढ्दा त्यसले सकारात्मक प्रभाव पार्ने भए पनि नेपालको अवस्था त्यस्तो नभएकाले समस्या नै उत्पन्न गर्ने अर्थविद् अधिकारीको भनाई छ । डलरको मूल्य बढ्नेबित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिने आयातको मूल्य स्वतः बढ्न जाने भएकाले उपभोक्ता थप महंगीको मार खेप्न बाध्य भएको उनी बताउँछन् ।
नेपाली मुद्रा अबमूल्यनमा परेसँगै आमजनताले उपभोग गर्ने खाद्य पदार्थ, पोसाकदेखि विद्युतीय उपकरणसम्मका सामानमा मूल्यवृद्धि भएको हो । आयातमा आधारित मुलुक भएकाले डलरको मूल्यवृद्धि भएसँगै आयातीत समानको मूल्य २० देखि ३० प्रतिशतसम्म बढ्नेछ । मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारले लगाएको दोहोरो करका कारण पनि जनता मारमा परेका छ ।
काठमाडौंको न्युरोड, असन, इन्द्रचोक र महाबौद्धलाई राजधानीकै मुख्य बजारका रूपमा लिइन्छ । यी बजारमा कोरोना महामारीको समयदेखि अझै अपेक्षाकृत रूपमा व्यापार भएको छैन । त्यहाँका व्यापारीले उपभोक्तासित पैसा नभएकै कारण र भाउ पनि बढेकाले कोरोना कहरअघिका वर्षजस्तो व्यापार नभएको बताएका छन् । अहिले यी ठाउँमा संख्यात्मक रूपमा मान्छेको भिड देखिए पनि खासै व्यापार नभएको उनीहरू बताउँछन् ।
विगत वर्षमा दसैं–तिहारको रौनक ल्याउन दुई वा चार पाङ्ग्रे सवारी साधनका सोरुमको योगदान अतुलनीय रहन्थ्यो । तर, यो वर्ष यस्ता सोरुममा पनि खासै उत्साह छैन । मोबाइल, लत्ताकपडा, घरासयी सामग्री, जुत्ता–चप्पल कतै पनि कोरोना कहरभन्दा अघिल्ला वर्षजस्तो चहलपहल छैन ।
दसैंमा सरकार तथा निजी क्षेत्रले आफ्ना कर्मचारीलाई एक महिनाको तलबबराबरको रकम दसैं खर्च (दसैं पेश्की) भनेर दिने परम्परा छ । जसले गर्दा जनमानसमा सामान्य अवधिमा भन्दा दसैंमा बढी पैसा आउने भएकाले त्यस्तो रकम नयाँ वस्तु जोड्ने अवसरका रूपमा प्रयोग हुँदै आएको छ ।
विशेषगरी हिन्दू संस्कारमा सबैभन्दा ठूलो पर्वका रूपमा लिइएको दसैंमा हरेक व्यक्तिले नयाँ लुगा लगाउने, नयाँ गरगहना बनाउने, नयाँ टिभी÷फ्रिजजस्ता घरायसी सामान किन्ने गर्छन् । दसैंका बेला आफूसँग पैसा नभएकासमेत ऋण काढेरै भए पनि आवश्यक सामान जोहो गर्ने गर्छन् ।
लामो समय विदेशमा रहेका नेपाली दसैं–तिहार मनाउन स्वदेश फर्किने गरेका छन् । विदेशबाट फर्किएका नेपालीले घर फर्कंदा केही नयाँ सामान खरिद गरेकै हुन्छन् ।
यसपटकको दसैंमा लामो समय बन्द चिनियाँ भन्सार नाकाबाट नयाँ सामान नआएको र केही भित्रिए पनि महंगिएर आएकाले दसैंका उपभोक्ताले सामान माग गर्न छाडेपछि व्यापारीले पनि नयाँ सामान ल्याउन खासै जाँगर चलाएका छैनन् ।






