यसपटकको निर्वाचनमा यी कलाकारले दिए उम्मेदवारी

काठमाडौं । आगामी ४ मंसिरमा हुने संसदीय निर्वाचनका लागि देशव्यापी रूपमा आइतबार उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराए । यसपटकको संसदीय निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ चलचित्रवृत्तका केही सिनेकर्मीले पनि उम्मेदवारी दिएका छन् । यसअघि कलाकारले प्रतिनिधिसभाको निर्वाचनमा त्यति धेरै उम्मेदवारी नदिए पनि यसपटक करिब आधा दर्जन कलाकार प्रत्यक्ष रूपमा उम्मेदवार बन्ने भएका छन् ।

यसै क्रममा अभिनेत्री रेखा थापाले यसपटक राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)बाट संसदीय निर्वाचनमा उम्मेदवारी दिएकी छिन् । केही वर्ष यताबाट रापपामा रहेर राजनीति गर्दै आएकी अभिनेत्री रेखा थापाले यही पार्टीबाट आइतबार मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । आफ्नो गृह क्षेत्र रहेको र पार्टीले यही क्षेत्रबाट सिफारिस गरेका कारण मोरङको क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएको अभिनेत्री रेखाले बताएकी छन् । उम्मेदवारी दर्ता गर्न रेखा कार्यकर्ता र पति बलराम शाहीसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी थिइन् । आफू राजनीतिमा आए पनि चलचित्र कार्यलाई समेत निरन्तता दिने यिनले बताएकी छन् ।

यस्तै, चलचित्र तथा लोकगायिका कोमल वलीले पनि यसपटकको संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकी छन् । नेकपा एमालेबाट गायिका कोमल वलीले यसपटक निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले दाङ क्षेत्र नम्बर–३ बाट आइतबार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

गायिका वली अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा थिइन् । तर, पार्टीको निर्देशनअनुसार उनले आफ्नो उम्मेदवारी त्यति बेला दिइनन् । सोही कारण एमालेले गायिका कोमललाई राष्ट्रिय सभा सदस्य बनाएको थियो । आफ्नो सदस्यको कार्यकाल पूरा गरेर उनी यसपटक प्रत्यक्ष निर्वाचनमा उत्रिएकी छन् ।

यस्तै, चलचित्र निर्देशक मनोज पण्डित पनि उम्मेदवार बनेका छन् । उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आइतबार काभ्रे–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि आफूले चलचित्र ‘बधशाला’, ‘ग्रेटर नेपाल’ निर्देशन गर्दा राज्यपक्षबाट आइपरेका समस्यपछि राजनीतिमा जाने निधो गरेको मनोजले बताउँदै आएका थिए । मनोज बामपन्थी विचारधाराका भए पनि पछिल्लो समय स्वतन्त्रको लहर चलेका कारण आफूले पनि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

प्रतिनिधिसभातर्फ सांसदमा स्वतन्त्र उम्मेदवारी दिने कलाकारमा गायक सञ्जय श्रेष्ठ पनि रहेका छन् । उनले आइतबार काठमाडौं क्षेत्र–६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिमा लागेर समाज परिवर्तनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् । उनले तरकेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, चलचित्र निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ पनि यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका थिए । आफूले धादिङको क्षेत्र नम्बर–१ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको निर्माता तथा अभिनेता श्रेष्ठले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?