स्थिर समयको अवमूल्यन नहोस्

अघिल्ला निर्वाचनमा जस्तै यसपटकको आवधिक निर्वाचनमा पनि बिहीबार १२.० बजेदेखि मौन अवधिका रूपमा स्थिर समय सुरु भइसकेको छ । ४८ घण्टाको यो ‘स्थिर समय’मा निर्वाचनका कुनै पनि गतिविधि गर्न पाइँदैन । यो निर्वाचनको सामान्य मान्यताभित्र पर्छ । आचार संहिताले पनि यसलाई समेटेको छ । यो भनेको विभिन्न राजनीतिक दलका प्रतिबद्धता र उम्मेदवारको वाचा सुनिसकेपछि घर परिवारमा छलफल गर्ने र त्यसमा पनि प्रत्येक मतदाताले आपूmले चाहेको उम्मेदवारको पक्षमा मतदान गर्न सोच बनाउने समय हो । मतदाताले अन्तिम निर्णय गर्ने र शान्त वातावरणमा मतदान सम्पन्न गर्ने ध्येयका साथ यस्तो समय चयन गरिएको हुन्छ । यो समय वास्तवमा वुद्धिविवेक पु¥याउने समय पनि हो । यसअघिको नारा, जुलुस, सभा र भाषण तथा प्रतिभाषणको समय बढी भावनात्मक र आवेगात्मक पनि हुन्छ । यो बेलामा माहोल, जुलुस र बन्दै गरेको मानसिकता हाबी हुन्छ । यो समयमा निर्णायक सोच बनिसकेको हुँदैन । परिपक्वता पनि आइसकेको हुँदैन । तर, यही अवस्थाबाट परिपक्वतातिर डो¥याउन स्थिर वा शून्य समयको प्रयोग व्यावहारिक बन्दै आएको देखिन्छ । यो समयमा प्रचारप्रसार पूर्णतः बन्देज हुन्छ ।

नेपालको निर्वाचन कसुर तथा सजाय ऐनले पनि मतदान हुनुपूर्व ४८ घण्टाअघिदेखि मतदानको अवधिभर कुनै पनि प्रचारका कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको छ । यदि, गरिएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने भनिएको छ । तर, यो व्यवस्थाअनुसार अनुगमनको पाटो निकै खुकुलो र अस्तव्यस्त छ । यही समयमा दबाब दिने, पैसा बाँड्ने, भोजभतेर गर्ने, घरघरमा भोटको किनबेच हुने गरिरहेको हुन्छ । स्थानीय कार्यकर्ता भेटघाटका नाममा यसै बेला पैसा बाँड्ने काम गरिरहेका भेटिन्छन् । यही अवधिभित्र हुने क्रियाकलापले निर्वाचन मत परिणाम आँकलन गरिएको भन्दा निकै फरक हुने र उल्टापाल्टा देखिने पनि गरेको छ । प्रहरी मतदान केन्द्र र बुथ तथा मतपेटिका रक्षाका लागि खटिएका हुन्छन् । कर्मचारी मतदान कसरी व्यवस्थित गराउने भन्ने कुरामा लागेका हुन्छन् । यति नै बेला गाउँघरमा अनुगमनका लागि खटिएका टिम र संस्थाहरूको क्रियाशीलता भएन भने गाउँघर पैसा बाँड्ने पर्वमा परिणत भएको हुन्छ ।

बाहिर देखाउन र केही हदसम्म अनुशासन कायम गर्न निर्वाचन आयोगले जारी गरेको कागजी बुँदाले काम त गर्ला । तर, वास्तविक र वस्तुगत रूपमा यसले काम गरिरहेको हुँदैन । मानिस यन्त्र होइन, यो चलायमान रहन्छ । यो चेतनशील प्राणी पनि हो । आप्mनो आर्थिक फाइदा र घाटाका लागि यो मतको सौदाबाजीमा लागिसकेको हुन्छ । अति नै सचेत नागरिक वा मतदाताबाहेक अरू ब्रोइलरको झोल र भातमा पाँच औंला चुर्लुम्म डुबाएर कुहिनाबाट झोल चुहिनेगरी खाइरहेको आश्चर्यजनक दृश्य जहाँकहीँ देख्न पाइन्छ । यो बेलामा यसो नगर भन्ने वा उजुरी गर्ने वा तिनलाई त्यसो गर्नबाट रोक्ने कोही पनि हुँदैन । होटेल, रेस्टुराँ र खाजाघर मतदानका दिन खुल्ला हुन्छन् । राजनीतिक दलका उम्मेदवारका उधारो खाए पनि खाजाघरमा भने ‘खानपिन फ्रि’ रहेको हुन्छ । त्यसैले, मौन अवधिको रूपमा रहेको स्थिर समयलाई कहीँकतैबाट पनि अवमूल्यन हुन नदिन सबै पक्ष सर्तक र चनाखो हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई