पोखरा । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को १२औं डिस्ट्रिक्ट सम्मेलन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा तीन दिनसम्म चल्ने सम्मेलनमा करिब २ हजार जना रोटरियनको सहभागिता रहेको रोटरीका डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जनाए ।
सम्मेलन उद्घाटन गर्दै रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले संसारको सबैभन्दा उत्कृष्ट सामाजिक सेवा र मानवीय सेवा गर्ने संस्था भएको दाबी गरे । सक्नेले सकेजति योगदान दिने हो भने रोटरीकै माध्यमबाट पृथ्वीलाई स्वर्ग बनाउन सकिने उनको भनाइ थियो । नेपालमा १२४ रोटरी क्लब तथा भुटानमा रहेको एउटा रोटरी क्लबका सदस्य सहभागी भएको सचिव डिल्लीप्रसाद शर्माले बताए । सम्मेलनमा अमेरिका, जापान, ताइवान, अमेरिका, स्वीडेन लगायतका देशका रोटरियन समेतको उपस्थिति छ । गण्डकीमा हाल १६ वटा रोटरी क्लब सञ्चालित छन् ।