नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

काठमाडौं । प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र विपक्षमा १०० मत परेको हो ।

सभामुख चयनका लागि भएको मतदानमाा प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय ६८ सदस्य सहभागी भएका थिए । १ सांसद भने ‘तटस्थ’ बसे । घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने थिए ।

कांग्रेस उम्मेदवार न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी नेता प्रकाश ज्वाला थिए । घिमिरेलाई सभामुख बनाउन सत्तारूढ दल एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाको मुख्य साथ थियो भने जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले समेत घिमिरेकै पक्षमा मत दिए ।

घिमिरे गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट प्रत्यक्षतर्फ निर्वाचित र न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । सभामुख चयन प्रक्रियामा घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा कांग्रेसले न्यौपानेको उम्मेदवारीमाथि छलफल नै भएन । कांग्रेस उम्मेदवार न्यौपानेलाई भने एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरे ।

प्रतिनिधिसभामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि ‘सभामुखमा कसले जित निकाल्छन् ?’ भन्नेमा अनेक अड्कल भएका थिए । प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ र कांग्रेससँग ८८ सांसद छन् । प्रतिनिधिसभामा जसपाका १२, नेकपा एकीकृत समाजवादीका १० तथा लोसपाका ४ सांसद छन् ।

त्यस्तै, तीन स्वतन्त्र सांसदसमेत छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा १० सांसद छन् । प्रतिनिधिसभामा मजदुर किसान पार्टीका १ र जनमोर्चाका पनि १ र कांग्रेसका १ सांसद निलम्बनमा परेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकजनलाई सभामुख चयन गर्नुपर्छ । यसअघिसम्म प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्दै आएका थिए ।

प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने कांग्रेसले समेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ ।

हालको सत्ता गठबन्धन बन्दा र प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।

को हुन् घिमिरे ?
प्रतिनिधिसभा सभामुखमा निर्वाचित देवराज घिमिरे ताप्लेजुङ सिरिजंघा गाउँपालिका–३ मा १३ जेठ २०१३ मा जन्मिएका हुन् । उनी हाल झापा अर्जुनधारा नगरपालिका–६ का स्थायीबासी छन् ।

स्नातकसम्म अध्ययन गरेका घिमिरेले बाल्यकालमा स्थानीय श्रीसिंहदेवी प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरे । पछि, ताप्लेजुङको भानु पब्लिक हाइस्कुलबाट उनले २०२९ सालमा एसएलसी उत्तीर्ण गरे । घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक गरेका छन् ।

२०३१ सालमा ‘झापा विद्रोह’पछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको विद्यार्थी राजनीतिमा लागे ।

२०३३ सालपछि शिक्षासमेत थाँती राखेर पार्टी संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत अवस्थामै २०३५ भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनले ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

११ पुस २०३५ मा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्ला पार्टी प्रमुख, २०४९ सालमा नेकपा माले र नेकपा एकीकृत एकीकरणपछि सम्पन्न नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै २०५० सालमा नेकपा एमाले मेची अञ्चल इन्चार्ज भएर घिमिरेले काम गरिसकेका छन् ।

२०५८ सालमा एमाले केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्ज हुँदै इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघ इन्चार्जको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् ।

२०७५ सालमा तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बनेका उनी भूमिगत राजनीतिमा रहँदा पञ्चायती शासकले गतिविधि नियन्त्रणका लागि पटकपटक पक्राउ पुर्जी जारी गरेको थियो ।

२०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका घिमिरे २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता