पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको छ ।
महानगरले पोखराको बगालेटोलस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १ सय र पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमको स्वामित्वमा रहेको साविक बुद्ध अस्पतालमा ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको हो ।
महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार बसेको बैठकले कोरोना भाइरस देखिएका बिरामीलाई राख्नका लागि ती २ अस्पतालमा १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको कोरोना रोकथाम र नियन्त्रणका लागि महानगरमा गठित समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
उनले भनिन्, ‘लेक सिटी हस्पिटलमा तत्काल क्वारेन्टाइनका लागि उपयुक्त रहेको भए पनि बुद्ध अस्पतालमा नपुग केही सामानहरुका ‘स्टिमेट’ गरी केही दिनमा संचालन गर्न सकिने छ ।’ उनका अनुसार लेकसिटीमा मात्र सरसफाइ गरी बेड सिट फेरेमात्र पुग्छ ।’ महानगरले आवश्यक परेमा थप बेड क्वारेन्टाइनका लागि खोज्ने उनले बताइन् ।
दुवै हस्पिटलको महानगर प्रमुख जिसी, उपप्रमुख गुरुङसहित, वडा अध्यक्ष र स्वास्थ्यकर्मीले मंगलबार निरीक्षण गरेका छन् । सो क्रममा आवश्यक सामग्री मंगलबार दिनभरीमा व्यवस्थापन गर्न महानगर प्रमुख जिसीले महानगर स्वास्थ्य महाशाखालाई निर्देशन समेत दिए ।
महानगरमा उपप्रमुख संयोजकत्वमा गठित समिति सदस्यमा पोखराका विभिन्न ५ वटा वडाका अध्यक्षहरु समेत सदस्य छन् । जसमा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा ९ का अध्यक्ष रामराज लामिछाने, १३ का लेखबहादुर तामाङ (दर्शन लामा), वडा १९ का शोभामोहन पौडेल र वडा २९ का चेतबहादुर गुरुङ हुन् ।
यसअघि, गण्डकी प्रदेश सरकारले पोखरा वडा ५, मालेपाटनस्थित कृषिको तालिम केन्द्रको होस्टेललाई ६० बेड क्षमताको क्वारेन्टाइन रुपमा विकास गर्ने सोमबारमात्र निर्णय गरेको थियो । आवश्यकता अनुसार पोखरा १६ स्थित मातृशिशु अस्पताललाई समेत क्वारेन्टाइनको रुपमा विकास गर्न सकिने कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता एवं गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै, कोरोना संक्रमण व्यवस्थापनका लागि लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालको रुपमा विकास गरिने भएको छ ।






