प्रदेश–१ ‘कोसी’

इटहरी । प्रदेश–१ को नाम ‘कोसी’ बहुमतले पारित भएको छ । बुधबार प्रदेश–१ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोसी’ प्रदेश राख्ने बहुमतले पारित भएको हो ।

नेकपा एमालेका रामबहादुर राना मगरले प्रस्ताव गरेको ‘कोसी’मा एमाले सांसदद्वय विदुर लिंथेप र नेकपा एमालेका नीरन राईले समर्थन गरेका थिए ।

सभामुख बाबुराम गौतमले ‘कोसी’ नाममा बहुमत भएकाले प्रदेश–१ को नाम ‘कोसी’ रहने घोषणा गरे । बुधबार राति भएको मतदानमा कोसी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए ।
‘कोसी’ प्रदेशमा बहुमत भए पनि असन्तुष्ट बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले भने ‘किराँत–लिम्बूवान–सगरमाथा’ हुनुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता गरेको थियो । निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले पेस गरेको प्रस्तावमा जसपाकी निर्मला लिम्बू र नेकपा एसकै कमलप्रसाद जबेगुले समर्थन जनाएका थिए ।

दुई तिहाइभन्दा बढी सदस्यले ‘कोसी’ नामको पक्षमा हात उठाएपछि नामकरणको प्रक्रिया अगाडि बढाइएको थियो । प्रदेशसभा बैठकमा ‘कोसी’ प्रदेशमा मात्रै छलफल भएको थियो । यसअघि नेकपा एसले प्रस्ताव गरेको ‘किराँत–लिम्बूवान–सगरमाथा’ प्रदेश नाम अस्वीकृत गरेपछि ‘कोसी’मा मात्रै छलफल भएको थियो ।

छलफलमा नेपाली कांग्रेसले सबैको भावना समेटिने भएकाले सो नाममा समर्थन गरेको जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सभामा बोल्दै कोसी नाम सबैको सर्वस्वीकार्य हुने बताए । उनले भने, ‘प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशवासीको भावना समेटिने भएकाले हामीले समर्थन गरेका हौं ।’

छलफलमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद्को ठूलो संख्याले कोसी नाम स्वीकार गरेकाले आफूहरूको समर्थन रहेको जनाए ।

‘संसद्को ठूलो संख्याले स्वीकार गरेको नाममा हाम्रो समर्थन रहन्छ,’ उनले भने, ‘फेरि निर्वाचनमा प्रदेशका जनताले हामीलाई दुई तिहाइ बहुमत दिएमा पहिचानका आधारमा नाम राख्छौं ।’ यसअघि पहिचानको आधारमा नाम राख्नुपर्ने अडान पार्टीको भए पनि अहिलेको जनादेश पहिचानको पक्षमा नामकरण गर्न असमर्थ रहेको उनको भनाइ छ ।

यस्तै, निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनतासँग गरेको प्रतिबद्वतामा दलहरू इमानदार नभएको तर्क गरे । उनले भने, ‘जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर मत माग्ने, आन्दोलनका लागि मर्न लगाउने प्रदेशको नाम माग्दा कन्जुस्याइँ गर्दा नेताहरू इमानदार भएनन् ।’ उनले किराँत–लिम्बूवान कुनै जात नभई सभ्यता रहेको बताए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बरबहादुर बिष्टले प्रदेशको नाम ‘कोसी’ मा आफूहरूको समर्थन रहेको बताए । यो नाममा सबै प्रदेशवासीको प्रतिनिधित्व हुने उनको भनाइ थियो ।

जसपाकी निर्मला लिम्बूले भने कोसी प्रदेश राख्दा आफ्नो असहमति रहेको बताइन् । संसद्मा रोदनमिश्रित भावमा उनले भनिन्, ‘मलाई नामकरणको विषयमा हिजो मात्रै थाहा दिएर अपमान गरियो ।’

यसअघि एमालेले नामकरणका लागि प्रस्ताव पेस गर्दै कोसी सभ्यता रहेको बताएको थियो । ‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्ने दायित्व पूरा गर्न यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृतिसमेतलाई समेट्नेगरी तथा कोसी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारका रूपमा हिमालदेखि पहाड र तराईको भू–भागमा कोसी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोसी प्रदेश राख्न उपयुक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ ।

प्रदेशको राजधानी भने यसअघि विराटनगर तोकिएको छ । २३ वैशाख २०७६ मा प्रदेशको राजधानी विराटनगर तोकिएको थियो ।
प्रदेश–१ मा कुल ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद आवश्यक पर्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका एक जना सांसद छन् ।

तपाइको प्रतिक्रिया
(Visited 807 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर