काठमाडौं । दक्षिणी भारतको कर्नाटक राज्यमा १० मेमा भएको मतदानपछिको एक्जिट पोलले सत्तामा रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)भन्दा विपक्षी कांग्रेस पार्टीले सरकार बनाउने राम्रो सम्भावना रहेको अनुमान गरेको थियो । भारतीय राजनीतिमा बीजेपीको वर्चस्व र बहुमत प्राप्त नभएका राज्यमा पनि सरकार गठनमा सत्तारूढ दलको नेतृत्व पृष्ठभूमिका कारण कांग्रेस विजयी हुनेमा थोरैले मात्र पत्याएका थिए ।
शनिबार कांग्रेसले कर्नाटक विधान सभामा २२४ सिटमध्ये १३५ सिट जित्न सफल भयो । उसले ४३ प्रतिशत मत प्राप्त ग¥यो । २०१८ को अघिल्लो निर्वाचनको तुलनामा ५ प्रतिशत बढी र भाजपाभन्दा ७ प्रतिशत बढी मत कांग्रेसले पायो । २०१८ मा मोदीको पार्टीले १ सय ४ सिट जितेको थियो । यसपटक ६६ सिटमा समेटियो । जनता दल (धर्मनिरपेक्ष)वा जेडीएस राज्यको तेस्रो प्रमुख पार्टीले १९ सिट प्राप्त गरेको छ ।
निर्वाचनको यो नजितामा स्थानीय राजनीतिक कारण रहेको विश्लेषण गरिएको छ । कर्नाटकको राजधानी बैंगलोरका वरिष्ठ राजनीतिक टिप्पणीकार तथा लेखक के एस दक्षिणा मूर्तिले अल जजिरालाई भनेका छन्, ‘कर्नाटकमा कांग्रेस नेतृत्व एकजुट भयो । र बीजेपी आफ्नै कुशासन र झगडाले टुक्राटुक्रा भयो ।’
कर्नाटकको राजनीतिलाई तीन दशकसम्म नजिकबाट हेरेका वरिष्ठ पत्रकार डेभिड बोडापतिले १९८९ पछि कांग्रेसले ठूलो अन्तरले पहिलोपटक जितेको बताए । त्यतिबेला कांग्रेसले १ सय ७८ सिट जितेको थियो । ‘यो स्पष्ट बहुमतले कांग्रेसलाई २०१३ मा झैं आफ्नै बलमा सरकार बनाउन अनुमति दिन्छ । अबको चार वर्ष राज्यमा स्थिर सरकार हुने सम्भावना छ,’ बोडापतिले भने ।
चुनावको नतिजापछि कर्नाटक कांग्रेसका वरिष्ठ नेता पूर्व मुख्यमन्त्री सिद्धरामैयाले भने, ‘यो धर्मनिरपेक्ष पार्टीको जित हो । कर्नाटकका जनता साम्प्रदायिक राजनीति सहन गर्दैनन् ।’
कांग्रेसका नेता राहुल गान्धी, जसले भारत जोडो यात्राको क्रममा कर्नाटकका २० वटा निर्वाचन क्षेत्रको भ्रमण गरेका थिए । उनले भने, ‘कर्नाटकले घृणाको ढोका बन्द गरेर मयााको पसल खोलिदिएको छ,’ राज्यको अघिल्लो बीजेपी सरकारले मुस्लिमलाई लक्षित गरेर कानुन र नियमको शृंखला जारी गरेको आरोपसमेत कांग्रेसको छ । कर्नाटकमा १३ प्रतिशत मुस्लिम रहेका छन् । गत वर्ष शैक्षिक संस्थामा मुस्लिम विद्यार्थीले हिजाब लगाउन प्रतिबन्ध र सरकारी जागिर र शैक्षिक संस्थामा ४ प्रतिशत आरक्षण खारेज गर्ने कानुनमा बनेको आरोप छ ।
मूल्यवृद्धि र भ्रष्टाचारले भाजपाको हारमा ठूलो भूमिका खेलको राजनीतिक टिप्पणी गरिएको छ । कांग्रेसले विशेषगरी भाजपाको सरकारलाई चुनावी प्रचारमा पटकपटक ४० प्रतिशतको सरकार भनेर आरोप लगायो । कर्नाटकका ठेकेदारहरूले राज्यद्वारा अनुदानित पूर्वाधार परियोजनाका लागि टेन्डर रकमको ४० प्रतिशत रकम लिइएको आरोपलाई कांग्रेसले चुनावी हतियार बनाएको थियो ।
मोदीले कर्नाटकमा करिब दुई दर्जन चुनावी सभामा भाग लिए तर त्यसले पार्टीको भाग्य जोगाउन सकेन । ‘भाजपामा स्थानीय नेतृत्वको अभाव थियो । मोदीको जादुले त्यहाँ काम गरेन,’ बोडापतिले भने । मनोवैज्ञानिकबाट राजनीतिज्ञ बनेका योगेन्द्र यादवले कर्नाटकको चुनावी नतिजाले २०२४ को लोकसभा चुनावको टोन सेट गर्ने बताए । तर, यसलाई मूर्ति भने स्वीकार गर्दैनन्, ‘प्रदेशको निर्वाचन स्थानीय तहको मुद्दा हो । हरेक चुनाव फरक हुन्छ,’ उनले भने ।






