काठमाडौं । समसामयिक नेपाली मूर्तिकार समूह आरम्भले अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई ‘नेपाली आधुनिक मूर्तिकला रत्न’बाट सम्मान गरेको छ ।
मैनालीको ९०औं जन्मोत्सवको अवसर पारेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा आयोजित समारोहबीच अभिनन्दन गरिएको हो ।
नाफा उपकुलपति लालकाजी लामाले सम्मान क्रममा नेपाली आधुनिक मूर्तिकला क्षेत्रमा नयाँ कलाकारको प्रेरणाको स्रोतका रूपमा मैनालीको योगदानलाई राज्यले सम्झनुपर्नेमा जोड दिए ।
आरम्भ अध्यक्ष सुदर्शन विक्रम राणाले परम्परागतबाहेक अन्य मूर्ति नबनेको अवस्थामा अग्रज कलाकार मैनालीले नेपालमा आधुनिक मूर्ति भित्र्याएको स्मरण गरे । यसको श्रेय उहाँलाई नै जान्छ,’ उनले भने, ‘उहाँको योगदान अतुलनीय छ ।’
राणाले युवापुस्तालाई प्रोत्साहित र अग्रज मूर्तिकारलाई सम्मान गर्दै नेपाली कला विश्वसामु पु¥याउने लक्ष्य आरम्भ समूहको रहेको जानकारी दिए ।
अग्रज मूर्तिकार मैनालीले ‘नेपाली आधुनिक मूर्तिकला रत्न’बाट अभिनन्दित हुन पाउँदा खुसी लागेको सुनाउँदै ९० वर्षको उमेरमा अझै कला सिर्जना गर्न हौंस्याएको उल्लेख गरे ।
कार्यक्रममा प्राज्ञ सौरगंगा दर्शनधारी, मूर्तिकार डा. लय मैनाली, भुवन थापा, रमेश खनाल, मूर्तिकार नरेन्द्रबहादुर श्रेष्ठ, गंगाधर सारु, ओम खत्री, सुनिता राणा, पुष्पाञ्जली शेरचन, प्राज्ञ सभा सदस्य नरेन्द्र भण्डारी, सुरेम देशारलगायत सहभागी थिए ।






