काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसहायक प्रवक्ता भइसकेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका रिजालविरुद्ध विशेष अदालतमा अख्तियारले पाँचवटा अभियोगमा मुद्दा दायर गरेको थियो । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा लगाएको थियो । अनि, नक्कली बिल बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौं मुद्दा दायर भएको थियो ।
न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिमाना हुने आदेश भएको छ । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
महिलासम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीबाट घुस लिएको अख्तियारको आरोप थियो । चारमध्ये पहिलोमा ३५ हजार, दोस्रोमा ९० हजार बिगो मागदाबी थियो । डेढ लाख मागेर ५० हजार रुपैयाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको थियो । चौथो मुद्दामा ४ लाख बिगो मागदाबी छ । ४ लाखमध्ये माछापुछ«े बैंकमा नै राखेको २ लाख जफत गर्न र बाँकी २ लाख रुपैयाँ असुल्न पनि अख्तियारले माग गरेको थियो ।
दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता लिएका थिए । उनले लिएको ७७ हजार ६ सय रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमनमा खटिएको भनी भ्रमणभत्ता बुझेका थिए ।