धनगढी । सुदूरपश्चिममा केही समययता डेंगुुको प्रकोप बढ्दै गएको देखिन्छ । विशेषगरी, कैलाली, कञ्चनपुर र दार्चुलामा डेंगुको प्रकोप बढिरहेको छ । हालसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेंगुको संक्रमण भइसकेको देखिएको छ ।
यो महिना (भदौ)को मात्र तथ्यांक हेर्दा बुधबारसम्म ३०८ जनामा संक्रमण देखिएको छ । यसले गर्दा संक्रमण तीव्ररूपमा फैलिरहेको देखिन्छ । हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून (एक जना) बैतडीमा रहेको देखाएको छ ।
यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालले भने मौकामा चौका हान्न खोजेका छन् । धनगढीका निजी अस्पतालले सेवाग्राहीबाट डेंगु परीक्षणको मात्रै चर्को शुल्क लिने गरेका छन् ।
धनगढीको सेती प्रादेशिक अस्पतालले डेंगु परीक्षण गरेको ५ सय रुपैयाँ लिने गरेको छ । डेंगु परीक्षणमा प्रयोग गरिने कीट पनि करिब ३०० सम्मको मूल्यमा पाइने बताइन्छ । तर, धनगढीका निजी अस्पतालले भने महामारीकै बेला डेंगु परीक्षणको दोब्बर मात्र होइन, तेब्बरसम्म शुल्क लिने गरेको पाइएको छ ।
धनगढीको सारथी अस्पतालले डेंगु परीक्षाणको २ हजार शुल्क लिइरहेको छ भने सञ्जीवनी अस्पतालले १ हजार ८ सय शुल्क लिने गरेको छ । जबकी यो अस्पतालले सञ्चालन स्वीकृति तथा अनुमति पनि पाएको छैन । यस्तै, सिपी अस्पताल र कैलाली अस्पतालले १ हजार ५ सय शुल्क लिने गरेका छन् ।
यस्तै, धनगढीको मायामेट्रो अस्पताल, स्वस्तिक अस्पताल, ओमआशा अस्पताल र केजी अस्पतालले भने १ हजार २ सय रुपैयाँ लिने गरेको पाइएको छ । यिनीहरूले लिइरहेको रकम पनि दोब्बर बढी नै हो । त्यस्तै अर्को धनगढीको नवजीवन अस्पतालले १ हजार १ सय, सौभाग्य अस्पतालले १ हजार शुल्क लिने गरेको छ । त्यस्तै, धनगढीको नोभा अस्पतालले भने ६ सय मात्रै शुल्क लिने गरेको पाइएको छ ।
यसरी निजी अस्पतालले चर्को शुल्क असुल्दा सेवाग्राही भने महामारीकै समयमा ठगिन थालेका छन् । यस्तो प्रकारको ठगी नियन्त्रण तथा यी अस्पताललाई नियमन गर्ने निकाय भने सुतेजस्तै गरेको सेवाग्राहीको गुनासो छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पालिकाबाट अनुमति पाएका÷नपाएका र प्रदेश मातहत सञ्चालनमा रहेका अस्पतालको अनुगमन नहुँदा समस्या आएको बताए । उनका अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालयले अनुगमन नै गरेको छैन, यस्तै, धनगढी उपमहानगरपालिकाले पनि अनुगमन नगर्दा यस्तो दुःखद परिस्थिति आएको हो ।
तर, अब आफूले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर हाल भइरहेको लुट धन्दा रोक्न तत्काल काम गर्ने बताए । यो स्वास्थ्यसँग जोडिएको गम्भीर सवाल रहेको उनको भनाइ छ ।
डेंगु कस्तो रोग हो ?
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु सरुवा रोगअन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्ने होइन । यसलाई लामखुट्टेले सार्ने गर्छ । एडिज जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेंगु सार्दै जान सक्ने सम्भावना रहन्छ ।