पाल्पा । तत्कालीन कर्णेल उजिर सिंह थापाले अंग्रेज सेनामाथि बुटवल जितगढी क्षेत्रमा विजय हासिल गरेको खुसीयालीमा श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर रथ यात्रा विजयोत्सव निकालिएको छ ।
बुटवलको जितगढीलगायतका क्षेत्रमा १८७२ सालमा अंग्रेज सेनामाथि नेपाली सेनाका तर्फबाट कर्णेल थापाले विजय प्राप्त गरेका थिए । १८७२ सालदेखि १८७६ सम्म भगवती मन्दिर स्थापना गरेर १८७७ देखि विजयोत्सवस्वरूप भगवतीको रथ जात्रा सञ्चालन हुँदै आएको छ ।
युद्धमा जानुभन्दा अगाडि थापाले विजयी हासिल गरे प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरी युद्धमा विजय हासिल गरेकाले जात्रा मनाउन थालिएको इतिहास छ । नेपाल र अंग्रेजबिच भएका पाँचवटा युद्धहरूमध्ये तत्कालीन पाल्पाली सेनाले मात्र युद्धमा विजय हासिल गरेको थियो ।
कृष्ण जन्माष्टीको दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने, राति १२ बजे साइत हेराएर मन्दिर परिसरमा भगवतीको रथ उचाल्ने, बली दिने र घुमाउने गरिन्छ । भोलिपल्ट रथलाई बिहानैदेखि सर्वसाधरणलाई पूजा गर्न खुला गरिन्छ । भगवतीलाई कुखुरा, बोका र पाडा बली दिने गरिन्छ । विजय रथजात्रा १ बजेभित्र साइतअनुसार उठाएर तीनपटक मन्दिर परिक्रमा गराइएको थियो ।
भगवतीको रथयात्रामा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको गणपति र तानसेन नगरपालिका प्रमुखलगायतले बली दिएर पूजा गर्ने गरिन्छ । सर्वसाधारणले घरघरबाट नै पूजा गर्दछन् । रथ यात्रामा नेपाली सेनाले सालमी दिने चलन छ । विशेषगरी, सेनाको पूजाकै रूपमा यस जात्रालाई लिइन्छ । रथयात्रामा सरकारी कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्था प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहन्छ । पाल्पामा लाग्ने १० भन्दा बढी जात्रामध्ये भगवतीको रथयात्रा सबैभन्दा ठुलो हो । रथयात्राको अवलोकन गर्न पाल्पा गुल्मी स्याङ्जा, पोखरा बुटवल, अर्घाखाँचीलगायतबाट आउने गर्दछन् । पाल्पालीको पहिचानका रूपमा रहेको राष्ट्रिय जात्रा भएकाले लुम्बिनी प्रदेश सरकारले जात्राका दिन पाल्पामा स्थानीय बिदा दिएको छ ।
विजयोत्सव मनाउन अधिकांश काठमाडांैलगायत जिल्लाबाहिर बसी काम गर्दै आएका पाल्पाली तानसेन आएका थिए । विजयोत्सवको भगवती जात्रा अवलोकन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानालगायतका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।