क्याटलान । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडीसमेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो । तर, पछि खेलाडीहरूले क्लबको अवस्थालाई मध्यनजर गर्दै ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि सहमत भएका हुन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्ने उपायको खोजी गर्दा ढिला भएको बताए ।
स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले कप्तान लिओनल मेस्सीले तलब कटौतीमा सहमति जनाएको बताएका छन् । मेस्सीले खेलाडीको तलब कटौती’bout ढिला निर्णय हुनुमा क्लबका ठूला पदाधिकारी जिम्मेवार रहेको बताएका थिए । बार्सिलोनाका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न तयार भएको धारणा मेस्सीले नै सार्वजनिक गरेका थिए ।
अध्यक्ष बार्तोमेउले तलव कटौतीको प्रस्ताव कप्तानबाटै आएको र उनीहरू क्लबप्रति कति बफादार छ भन्ने संकेत दिएको बताए । यसअघि इटालियन क्लब युभेन्टस, जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए । कोरोनाका कारण स्पेन ११ अप्रिलसम्म लकडाउन गरिएको छ । कोरोनाको कारण स्पेनमा ७ हजार बढीले ज्यान गुमाइसकेको छ । स्पेनमा पनि विशेष गरी क्याटलान क्षेत्र बढी प्रभावित छ ।






