काठमाडौं । भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाइछिपाइ लैजाँदै गरेको करिब ९ सय २० किलो गाँजासहित सशस्त्र प्रहरीले आइतबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएकाहरुमा भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने अन्दाजी ४५ वर्षीय दुलारे यादव र ३६ वर्षीय योगेश बर्मा छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले उनीहरूलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बसपार्कस्थित पूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।
चितवनको खुरखुरेबाट वीरगन्जतर्फ जाँदै गरेको एनएल०१ एसी २१४५ नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा चालकतर्फको भित्तामा झन्डै दुई फिट चौडाइ र ६ फिट लम्बाइको फल्स बटन बनाई लुकाइछिपाई लैजाँदै गरेको उल्लेखित गाँजा फेला परेको हो । नियन्त्रणमा लिइएका सो कन्टेनरको चालक तथा सहचालक रहेका छन् ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ ।