एकीकृत समाजवादीले मेची–महाकाली ‘समाजवादी जागरण अभियान’ गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १४ असोजदेखि २९ सम्म मेची महाकाली ‘समाजवादी जागरण अभियान’ सञ्चालन गर्दै छ । त्यसका लागि पार्टी अध्यक्ष अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २ हजार एक सदस्यीय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन समिति गठन भएको छ ।

झापाको काँकडभिट्टाबाट सुरु भएर सुदूरपश्चिम हुँदै सुर्खेतमा समापन हुने यात्रामा रूपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजना’bout जनतालाई बुझाइने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष नेपालले समाजवादी यात्राले जनता र पार्टीबिच सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरे । यात्राका क्रममा पार्टीको सिद्धान्त, विचार, नीति तथा कार्यक्रमलगायतका विषयमा जानकारी गराउनुका साथै जनताका गुनासोसमेत सुन्ने र समाधानका लागि पहल गर्ने उनले बताए ।

‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुने यस समाजवादी जागरण अभियानले पार्टी र सर्वसधारणबिच सम्बन्ध सुमधुर बनाउनेछ । हामीले उठाउँदै आएको मुद्दा के हो ? त्यसलाई जनताबिचमा राख्ने, बुझाउने काम हुन्छ,’ अध्यक्ष नेपालले भने, ‘जागरण अभियानका क्रममा जनताका गुनासो, समस्या, आवश्यकता के हो ? भन्ने विषयमा हामी केन्द्रित हुन्छौं । त्यसलाई पूरा गर्न पार्टी र पार्टीका नेताले के गर्नुपर्छ ? त्यसका लागि पहल गर्छौं ।’

१६ दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम रहेको छ । पहिलो दिन १४ असोजमा काकँडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुने प्रवक्ता खतिवडाले जनाएका छन् ।

यसैगरी, १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै, १६ असोजमा राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ ।

१७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ । त्यस्तै, १९ असोजमा पथलैया, हेटौंडा, मनहरि, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

२० असोजमा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै, सैनामैना, चन्द्रौटा, भालुवाङ लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

२४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखर र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने नेकपा एसको कार्यतालिका छ । त्यस्तै, २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगडी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ । २८ असोजमा छिन्चु र सुर्खेतमा अभियनअन्तर्गतका सभा आयोजना हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादी जागरण अभियानमा पार्टीका केन्द्रीय कमिटीका नेता, भ्रातृसंगठनका केन्द्रीय कमिटीका नेताका साथै प्रदेश, जिल्ला, पालिका स्तरका नेताकार्यकर्ताको सहभागिता हुने बताए । यस क्रममा जुन ठाउँमा कार्यक्रम, सभा हुन्छ सोही जिल्ला र पालिका कमिटीले व्यवस्थापन गर्ने जिम्मेवारी पाएको उनले बताए । यस यात्राले पार्टीलाई थप बलियो बनाउने लक्ष्य राखिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित