काठमाडौं । भारतकी कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्के यतिबेला काठमाडौंमा छिन् । आफु सहित ३ कत्थक नृत्य कलाकारका साथ काठमाडौं आएकी उनले आफ्नो नृत्य ‘कथक डान्स रिसिटल’ कार्यक्रम मँगलबार बेलुका काठमाडौंको जमल स्थित नाचघरमा प्रस्तुत गरेकी छिन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा उनी आफ्नो कथक लिएर नाचघरमा प्रस्तुत भएकी हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलगायत समेत मँगलबार बेलुका उनको कथक नृत्यमा करिब दुई घन्टा रमाए ।
विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय मुम्बईकी रञ्जना फड्केले कार्यक्रममा भगवान शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित ६ वटा कथक नृत्यहरु प्रस्तुत गरिन् । कथकमा उनलाई कलाकार सुरवी सिन्त्रे र रसिका गांगलले साथ दिएका थिए ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले सांस्कृतिक आदानप्रदान मार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ गाढा बनाउन यो कार्यक्रम आयोजना गरेको बताईन् । यस्तै स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा. आसवरी बापटको भनाईमा नेपालमा समेत कथक नृत्य लोकप्रिय भएकाले कथक नृत्य आदन प्रदानको लागि कार्यक्रम गरिएको हो ।
रञ्जना फड्केको समूहले नेपालका तीन स्थानमा कथक नृत्यको प्रस्तुतिहरु दिने भएको छ । काठमाडौंपछि आफुहरुले १७ असोजमा विराटनगरस्थित आरोहण गुरुकुलमा र १९ असोजमा पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा कथक प्रस्तुत गर्ने रञ्जनाले बताएकी छिन् ।






