कालापानी, लिपुलेक क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण र स्थानीय जनतासँग भेटघाटको कुरा सार्वजनिक भएपछि पनि नेपाल सरकारका तर्फबाट कुनै पनि औपचारिक प्रतिक्रिया वा पहल देखिएन । यसबाट हाल सरकारले संसदबाट पारित चुच्चे नक्सासम्बन्धी जिम्मेवारी केवल राजनीतिक पार्टीको मात्र हो, सरकारको होइन भन्ने धारणा पालेर बसेको देखिन्छ । वा, संसदमा त्यति बेला बाध्यताले पेलिएर पारित गर्न पुगेको र अहिले जे गरे पनि हुने भन्ने सोच पलाएको अनुभूत हुन्छ । होइन, भने दुई देशबीच छिमेकी सम्बन्ध निकै तनावपूर्ण रहनु उपयुक्त हुँदैन । भनिन्छ, ‘मित्र बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन’ यसको अर्थ हो, छिमेकीसँग जोडिएको भूमि † यो भूमि छिमेकी देश कसैले पनि हडपेर मेरो वा तेरो गर्नु उचित हुँदैन । यसो भएमा तत्काल दुई छिमेकीबीच तनाव र मनोमालिन्य सिर्जना भए पनि दीर्घकालीन रूपमा स्थानीय जनताले अस्वीकार गर्दा देश गृहकलहको चपेटामा पर्ने गरेका पनि छन् ।
माटो, भूमि वा देश केवल यान्त्रिक वा भौतिक वस्तु मात्र होइन, यो समाज, मनोविज्ञान, भावना र अस्तित्वसँग जोडिएको विषय पनि हो । त्यसैले भूमि कज्याउँदा निकै गम्भीर बन्नुपर्छ । भनिएको पनि छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि †’ अहिले जुनसुकै रूपमा अभिव्यक्त भए पनि इजरायली र प्यालेस्टिानी क्षेत्रमा निरन्तर हुने गरेको द्वन्द्व सबैका लागि उदाहरण बनिरहेको छ । इजरायली र प्यालेस्टिनी दुवै त्यही भूमिका भूमिपुत्र हुन् । तर, सत्ता र शक्तिका हिसाबले कहिले इजरायली र कहिले प्यालेस्टिनी शक्तिमा हुँदा यिनका आआफ्ना दाबी र प्रभावका कारण आज आप्mनै भूमिमा यी दुई एकापसमा लडिरहेका छन् । त्यसैले साँधसीमाका कुरा’bout तत्कालीन राज्यका अधिकारी र सरकार चुपचाप रहने कुरा राम्रो हुँदैन । छिमेकीसँग निरन्तर वार्ता, कूटनीतिक पहल, छलफल र कुराकानी चलाइरहनुपर्छ । सरकार आउँछ, जान्छ तर राज्य र भूमि समयसापेक्ष दीर्घकालसम्म रहन्छन् । यस कारणले पनि राज्यसँग जोडिएका समस्या दीर्घकालीन प्रकृतिका हुन्छन् । यिनको समाधान भूमिको निक्र्यौल, स्थानीय जनताको चाहना, सम्बन्धित देशको मागदाबी र अन्तर्राष्ट्रिय मान्यताअनुरूप हुन्छ र गरिनु पनि पर्छ ।
अहिले मैत्रीपूर्ण, कम विवादित र सामान्य द्विपक्षीय कुराकानी र छलफलमा टुंगो लाग्ने विषय तन्काउँदा र दीर्घकालीन बनाउँदा त्यो बढी गम्भीर र पीडादायी बन्न जान्छ । सीमाको विषय, सीमामा रहेका सम्बन्धित देशमा नागरिक, उनीहरूको भावना र मनोविज्ञान तथा मानव अधिकारसँग जोडिएका कुरा पनि हुन् । यी कुरा राज्य सञ्चालकका बौद्धिक तथा मानवीय गुण र कौशलसँग पनि जोडिएका हुन्छन् । मानिन्छ, राज्य सञ्चालक समकालीन समाजसापेक्ष बौद्धिक र अग्रगामी हुन्छन् । देश र जनताको समस्या समाधानमा प्रखर पनि हुन्छन् । तिनले लिएका सोच र पहल अचुक पनि हुन्छन् । फलतः समस्या समाधानको बाटोतर्फ अघि बढ्छ । नेपाल र भारत दुई छिमेकी राष्ट्र हुन् । दुई देशबीच विवादमैत्रीपूर्ण रूपमा हल हुँदै आएका पनि छन् । दूरदर्शी शासकले देश, काल, परिस्थितिअनुसार कदम चाल्न जान्नुपर्छ । सरकारले कुनै न कुनै माध्यम अपनाएर वार्ता अघि बढाउनुपर्छ । थाहा नपाएको स्वाङ पार्नु वा चर्को आवाज निकालेर तमासा देखाउनु दुवै उपयुक्त हुँदैन ।






