सन्ठी नहुँदा हुके हुक्कालोप हुँदै

उदयपुर । सनपाट खेती हुन छाडेपछि सन्ठी नहुँदा थारू समुदायमा लक्ष्मीपूजाको दिन खेलिने हुकेहुक्का खेल लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारू समुदायले केही वर्षअघिसम्म खेल्ने गरे नि पछिल्लो समय सनपाट खेती हुन छाडेको र युवापुस्ताले समेत संरक्षण नगर्दा लोप हुँदै गएको हो ।

पछिल्लो समय सनपाट खेती छाडेपछि सन्ठी पाउन छाडेको छ । लक्ष्मीपूजाका दिन खेलिने हुक्का खेल्न छाडिएको छ ।

किसानले बजार भाउ नपाउँदा सनपाट लगाउन छोडेपछि सन्ठी अभावमा यो खेल लोप भएको थारू पण्डित बासुदेव चौधरी बताउँछन्् । खेतीबाट उत्पादन भएका सनपाट गाड्ने तालतलैया र व्यवस्थित पोखरी अभावमा पनि यसको खेती गर्न छोडिएको त्रियुगानगरपालिका–३, मोतिगडाका पूर्ववडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए ।

सन्ठी नहुँदा ‘यस वर्ष कसरी हुके हुक्का खेल्ने ?’ भन्ने स्थानीय चिन्ता छ । गत वर्ष हुकेहुक्का खेल्न अन्यत्र जिल्लाबाट सन्ठी ल्याएर हुकेहुका खेलेको त्रियुगानगरपालिका–३ का बसचालक सरोजकुमार चौधरीले बताए ।

‘गत साल सुनसरी इनरुवाबाट एकभारि सन्ठी किनेर ल्याएको थिएँ तर यस वर्ष पनि सुनसरीमा सन्ठी खरिद गर्न पठाएका छौं,’ पण्डित चौधरी भन्छन््, ‘पौराणिक किवदन्तीअनुसार परापूर्वकालदेखि खेल्दै आएको हुकेहुक्का एकमुठा सन्ठीमा दुई चारवटा कुचोको सिन्का बाबियोले बाँधेर खेलिन्थ्यो । घरको देउता कोठाको दलिनमा धान, चामलमाथि दियो राखी विधिवत् पूजाआजा गरी खेल्ने चलन थियो तर सन्ठी अभावले लोप भयो ।’

थारू समुदाय प्रकृतिको पुजक भएकाले देउता घरको दलिनमा राखेको दियोमा हुकेहुक्का बाली थारू शब्दमा अनधनलक्ष्मी घर ढुक दरिदर बहार हो अर्थात् ‘अन्नधनसहित लक्ष्मी घर पसुन र दरिद्र बाहिर हुन्’ भन्दै तीनपटक मन्त्र पढेर हुकेहुक्का सल्काउने चलन रहेको त्रियुगानगरपालिका–१ जोगिदहका वडाध्यक्ष मनोेज चौधरीको भनाइ छ ।

सल्किसकेको हुकेहुक्कालाई तीन फेरासम्म देउता घरको चारैतिर घुमाएर दोबाटो वाखाली चौरमा लगी खेल्ने चलन छ । आगोको रापतापले दरिद्र भाग्ने किदन्तीअनुरूप हुकेहुक्काको प्रचलन रहेको र दियो अर्थात् हुकेहुक्काबाली लक्ष्मीलाई स्वागत गर्ने मान्यताअनुरूप यो खेल खेल्ने गरिन्छ । यस खेलले किसानले आफूले लगाएको ‘नयाँ अन्नबाली भित्र्याउने दिन आयो’ भनेर संकेत गर्ने गर्छ ।

नयाँ अन्नबाली ‘सप्रियोस्’ भनी हुकेहुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोबाटोमा जलाउने र बलेको आगोमा तीनपटकसम्म नाघेर आ–आफनो घर जाने चलन छ ।

एकएक जलेको हुकेहुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलनसमेत रहेको थारू समुदाय बताउँछन्् । तिनै बलेको एउटा हुकेहुक्काको ठुटाले ‘दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस्’ भन्दै घरमा ल्याइराख्ने प्रचलन रहेको पण्डित चौधरी बताउँछन्् ।

त्रियुगानगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलकानगरपालिकाको त्रियुगा नदीआसपास थारू समुदायको बसोबास छ । सनपाटको धागोबाट सञ्चालन हुने उद्योग बन्दपछि थारू समुदायको सांस्कृतिक पर्व हुकेहुका खेल बन्द भएको बुझिन्छ ।

लोप हुने अवस्थामा पुगेको हुकेहुका संरक्षण गर्न तथा युवापुस्तालाई आकर्षण गर्न उदयपुरमा नेपाल थारू संघ उदयपुरले पहिलोपटक हुक्केहुका महोत्सव ग-यो ।

चौदण्डीगढी नगरपालिका–९ पश्चित टोल ज्यामिरेमा महोत्सव आयोजना गरिएको त्रियुगा पूर्वनगरप्रमुख बलदेव चौधरीले जानकारी दिए । उनका अनुसार थारू समुदायको विभिन्न संस्कृतिमध्येको हुक्केहुका पनि महत्वपूर्ण पर्व हो ।

थारू समुदायमा शुभदीपावली (सुकराइन)मा लक्ष्मीपूजाको दिन साँझ परेपछि हुक्केहुका (सनपाटको) सन्ठीबाट विधिपूर्वक बनाइएको आगोको मुस्लो आकाशतिर फाल्दै खेल्ने परम्परा छ ।

‘हुक्केहुका कहिलेदेखि र किन थारू समुदायमा खेल्ने चलनको सुरुवात भयो ?’ भन्ने सम्बन्धमा कुनै ठोस तथ्य पत्ता नलागे पनि विभिन्न किंवदन्ती तथा विभिन्न खोज तथा अनुसन्धान भइरहेका छन् ।

किंवदन्तीअनुसार बिम्वीसार नामक राजाधन सम्पत्तिले परिपूर्ण थियो । एकदिन राजाले धेरै हानिनोक्सानी हुन सपना देख्यो । तत्पश्चात् राज चिन्तित भए । ‘के गर्ने ? कसो गर्ने ?’ भनी राजा व्याकुल भए । ज्योतिष बोलाएर राजाले सल्लाह लिने विचार गरे ।

ज्योतिषिले राजालाई सल्लाह दिँदै भने, ‘हानिनोक्सानीबाट मुक्ति पाउनुका लागि होमजाप गर्नुपर्छ, त्यसका लागि सात सयवटा विभिन्न पशु बली दिनू ।’ त्यसपछि दोस मुक्त हुनका लागि राजा बली दिन तयार भए र आवश्यक व्यवस्था गर्न आदेश दियो । यसको जानकारी थारू अशोक सम्राटलाई पनि भयो । अशोक सम्राटले विम्भिसारलाई भेटेर ‘जीवहत्या गरेर कुनै मुक्ति पाउन सकिँदैन’ भनी सम्झाइबुझाइ गरे ।

त्यसपछि बुद्धशिक्षाप्रति विश्वस्त भई बलीका लागि तयारी पारिएको पशुमुक्त गरिदिए । सोही अवसरमा चतुर्दशीयम द्वितीयाको दिन राति गृहणी मूल ढोकामा बत्ती बालेर सुपा बजाई (नाङ्लो बजाएर) आगोको मुस्लो बाली अन्नधनलक्ष्मी घर ढुक, भूत दरिद्र बाहार हो लागोको मुस्लो देखाएर दिपावली मनाइएको किंवदन्तीमा उल्लेख छ । त्यसदिनदेखि हुक्केहुका खेल्ने चलन सुरुवात भएको मानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित