कालिकोट । यसअघि विद्यालय व्यवस्थापन समिति चयन गर्ने बेलाबाहेकको समयमा प्रायः अभिभावक विद्यालयमा देखा नै पर्दैन थिए । विद्यार्थीलाई विद्यालय पठाइदिए मात्र उनीहरू आफ्नो कर्तव्य पूरा भएको ठान्थे । तर, हिजोआज अभिभावकको सोच फेरिएको छ । उनीहरूले निरन्तर विद्यालय र विद्यालयको गतिविधिको निगरानी राख्न थालेका छन् ।
अभिभावकको निगरानी बढेपछि नरहरिनाथ गाउँपालिका–१ कोटबाडास्थित नन्दादेवी माध्यमिक विद्यालयको रूपरंग नै फेरिएको छ । शैक्षिक गतिविधिमा सुधार हुन थालेको छ । यहाँका अभिभावक विद्यालयको पूर्वाधार निर्माणदेखि अध्ययन–अध्यापनमा समेत चासो राखेर निगरानी गर्न थालेका छन् ।
अहिले हरेक दिनजसो कुनै न कुनै अभिभावक विद्यालयमा पुगेकै हुन्छन् । विद्यालय जाँदा अभिभावक भवन निर्माणका लागि आवश्यक ढुंगा बोकेर जान बिर्सिँदैनन् । त्यति मात्र होइन विद्यालय पुगेपछि शिक्षकले समयमै पढाए–नपढाएको पनि निगरानी गर्छन् । जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार भएको अभिभावक बताउँछन् ।
‘अभिभावक ढुंगा बोकेर स्कुल मात्रै जाँदैनन्, उनीहरू हरेक दिन स्कुलमा बसी शिक्षकले पढाए नपढाएको अनुगमन गर्छन् र साँझ फर्किने समयमा दिनभरि भए गरेका क्रियाकलापको मूल्यांकन गरी शिक्षकलाई सल्लाह सुझाव पनि दिने गर्दछन्,’ स्थानीय अभिभावक दमन विष्ट भन्छन् ।
उनका अनुसार विद्यालयमा हरेक दिन एक अभिभावक आएर दिनभरि स्कुलमा बसी स्कुलका गतिविधिलाई अनुगमन गर्ने गर्दछन् । जसले गर्दा शिक्षक स्कुलमा समयमा र नियमित आउने गर्दछन् भने बालबालिका पनि विद्यालयमा नियमित आउने भएका छन् । शिक्षक हिरामणि सिम्खाडाका अनुसार यसरी अभिभावक नियमित विद्यालय आई दिनभरि अनुगमन गरी साँझ सल्लाह सुझाव दिएर जाने भएकाले शिक्षकलाई सजिलो हुनुका साथै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भएका कमी कमजोरीलाई सुधार गर्ने मौका समेत मिलेको छ ।
‘यो कार्यक्रमको सुरुवात सादा नेपालको सहजीकरणमा सञ्चालित बालविवाह, छिटो विवाह र जबर्जस्ती गरिने विवाह परियोजनाको सहयोगमा सञ्चालित छ । हामीलाई यो अत्यन्त प्रभावकारी लागेकाले यसलाई हामीले निरन्तरता दिएका हौं,’ हीरामणिले भने, ‘अहिले विद्यालयका तर्फबाट पनि ‘हेलो अभिभावक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौं । यसका लागि भोलि अभिभावक सम्मेलन राखेका छौं ।’
सो विद्यालयको सुधार देखेर अन्य विद्यालयले पनि यसको अनुशरण गर्न थालेका छन् । यस्तो कार्यले विद्यालयमा विद्यार्थी उपस्थिति दर बढाउन र शिक्षकको कमी–कमजोरी सुधार गर्न अत्यन्त प्रभावकारी भएको उपाध्यायले बताए ।
कक्षा १० मा अध्ययनरत तथा बालक्लबका अध्यक्ष अनिल विष्टले भने, ‘आजकल हाम्रो स्कुलमा अभिभावक आउन थालेपछि सर मेडम पनि समयमा नै स्कुल आउनुहुन्छ र फुल पिरियड पढाएर जानुहुन्छ ।’ अभिभावक स्कुलमा नियमित आउने भएकाले विद्यार्थी पनि बाटोमा कतै नखेली समयमा नै स्कुल आउन थालेको उनले जानकारी दिए ।
अभिभावक मात्र हैनन् यो विद्यालयमा जिल्लादेखि पनि विभिन्न सचेतनाका कार्यक्रमहरू ल्याएर पुग्ने गरेका छन् । पालिकाकै एक नमुना विद्यालयका रूपमा चिनिने गरेको विद्यालयमा प्रहरीले पनि किशोरी सुरक्षा तथा सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको छ ।
प्लान नेपालको सहयोग, सादा नेपालको सहजीकरणमा सञ्चालित बालविवाह छिटो विवाह र जबर्जस्ती गरिने विवाह परियोजना यो क्षेत्रमा लागू भएदेखि विद्यालयबाहिर रहेका विद्यार्थीको खोजी गरी उनीहरूको विवरण संकलन गरेर नियमित विद्यालयमा लगाएको परियोजनाका फिल्ड सुपरभाइजर गोविन्द नेपालीले बताए ।
परियोजना लागू नहुनुभन्दा अगाडि यहाँका फरक क्षमता भएका बालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिका स्कुल जान पाउँदैनथे । स्कुल जान नसक्नुको समस्या परिचान गरेर आर्थिक अवस्था कमजोर बालबालिकालाई सहयोग गरेर नियमित स्कुल जाने वातावरण मिलाइएको छ ।






