कालिकोट । बढ्दो बालविवाहले समाजमा नकरात्मक असर पार्न थालेपछि यहाँका ३ क्षेत्रका तीन स्थानीय तहले बालविवाहविरुद्धको अभियान थालेका छन् । बालविवाहले पारेको प्रभाव अध्ययन गरेर न्यूनीकरणका उपाय अवलम्बन गर्दै ती पालिका अघि बढेका हुन् । यस क्षेत्रका शान्नि, नरहरीनाथ र रास्कोट गाउँपालिकामा बालविवाहविरुद्धका क्रियाकलाप घनिभूत रूपमा भइरहेका हुन् ।
बालविवाह अन्त्य गर्न किशोरकिशोरी समूह, महिला सञ्जाल, दलित सञ्जाल, अपांगता भएका व्यक्तिदेखि सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था र स्थानीय सरकार लागिपरेका छन् । बालविवाहले बहुविवाह निम्त्याएको, किशोरीहरूको स्वास्थ्यमा असर देखिएको, घरेलु हिंसा बढेको, बच्चा रोगी जन्मनुका साथै शिशु मृत्युदर बढ्न थालेको भन्दै यस विषयमा सूक्ष्म अध्ययन गर्ने कार्य भइरहेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए ।
सन् २०२० मा ६७ प्रतिशत रहेको बालविवाह सन् २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ । यस्तै, सन् २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्यांकले देखाएको छ ।
‘हामीले रास्कोट नगरपालिकाका नौवटै वडाको बालविवाह, छिटो विवाह र जबर्जस्ती हुने विवाहको महिला–पुरुषको संख्या, कति जना विद्यालय बाहिर, कति जना विद्यालयमा नियमित जान थाले भन्ने कुरा औसतमा सर्वेक्षण गरेर पछिल्लो रिपोर्ट सार्वजनिक गरेको छौं, तीन वर्षको बीचमा तीनवटा पालिकामा मात्र ७६ प्रतिशतबाट झरेर ५१ प्रतिशत भएको सर्वेक्षण निकालेका छौं, यस्ताखाले कुप्रथाको न्यूनीकरणका लागि साझेदार संस्थासँग सहकार्य गरेर केही बजेट विनियोजन गरेका छौं,’ रास्कोट नगरपालिका प्रमुख शाहीले भने ।
अहिलेको तथ्यांकले यहाँका तीन स्थानीय तहमध्ये बालविवाह धेरै हुने रास्कोट देखिएको छ । रास्कोट–२ मा भने बालविवाह शून्य देखिन्छ । सो वडाका वडाध्यक्ष धु्रव सिम्खाडाले बालविवाह रोक्न किशोर किशोरी नै लागिपरेको, अभिभावकले पनि बालविवाहलाई प्रश्रय नदिएको बताए ।
यहाँ बालविवाहमुक्त वडा घोषणाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । वडाध्यक्ष सिम्खाडाले वडाको सिफारिस लिएर मात्रै विवाह गर्न पाइने नीति ल्याइएको बताए । उनका अनुसार टोलटोलमा बालविवाहविरुद्धका कार्यक्रम भइरहेका छन् ।
सादा नेपालका परियोजना संयोजक दलसिंह कुमालका अनुसार विद्यालयबाहिर रहेका बालबालिका विद्यालयमा पु¥याउने, बालविवाहमुक्त पालिका घोषणा गर्नेदेखि किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका ’boutमा जनचेतना दिने काम चलिरहेको छ । समाजमा रहेका धर्मगुरुसँग अन्तक्र्रिया, पुरानो पुस्ता र नयाँ पुस्ताबीच संवाद गर्ने र विद्यालयमा बालविवाह न्यूनीकरणका विषयमा पटकपटक क्षमता अभिवृद्धिका काम भइरहेको उनको भनाइ छ । बालविवाहविरुद्ध देउडा खेल्ने, छलफल चलाउनेदेखि बालविवाह गर्दा हुने कानुनी व्यवस्थाका ’boutमा समेत सिंजाका तीन स्थानीय तहमा बारम्बार छलफल चलिरहेको छ ।
यस्ताखाले छलफल तथा जनचेतनाले अहिले कालिकोटमा बालविवाहदर घट्दो अवस्थामा रहेको कुमालले बताए ।






