काठमाडौं । पछिल्लो समय अभिनेता सौगात मल्लको एकपछि अर्को चलचित्र आउने क्रममा जारी छ । यसै क्रममा उनको नयाँ फिल्म ‘मन्त्र’ आगामी वैशाखमा रिलिज हुने भएको छ । सौगात र दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्रको शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाइएको छ । मनास्लु क्षेत्रमा पहिलोपटक छायांकन गरिएको चलचित्रका दृश्यले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ । सार्वजनिक टिजरमा हिमाली भेगको सुन्दर दृश्यसँगै त्यहाँ सौगातको संघर्षलाई प्रस्तुत गरिएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनको अभिनय देखाइएको छ । यस चलचित्रमार्फत सौगात र दिया पहिलोपटक जोडी बनेर पर्दामा आउँदै छन् । खिलबहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली जीवनशैली र त्यहाँका एक जोडीको प्रेम कथा भन्ने छ ।






