चोली फेर्ने मायाका साथ प्रस्तुत भए बद्री पंगेनी

काठमाडौं । नेपालमा टिकटक बन्द भएपछि नेपाली गीत संगीतको प्रचारप्रसारमा निकै ठूलो असर परेको लोकगायक बद्री पंगेनीले बताएका छन् । काठमाडौंमा एक समारोहबीच आफ्नो नयाँ गीत ‘चोली फेर्ने माया…’को रिलिज समारोहमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गीत संगीतमा निरन्तरताका लागि आफूले यो नयाँ गीत रिलिज गरेको पनि यी गायकले बताएका छन्, ‘तपाईको नयाँ गीत के आउँदै छ भनेर सबैले सोध्ने गर्नु हुन्छ । सो प्रश्नको जवाफका लागि पनि वर्षमा चार÷पाँचवटा नयाँ गीत ल्याउनुपरेको छ,’ गायक पंगेनीले भने । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित सो विमोचन कार्यक्रममा गायक बद्री पंगेनीले अहिले गीतमा आम्दानी पहिलाको जस्तो नभएको पनि जिकिर गरे ।

उनको नयाँ गीत चोली फेर्ने मायामा गायक पंगेनीसँगै शान्ति भण्डारीको स्वर छ । गीतमा शब्द र संगीत शिव हमालको रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता पुष्प खड्कासँग गायक पंगेनी र गायिका भण्डारीले अभिनय गरेका छन् । अभिनेता पुष्प खडकासँग आजकाल फिल्म छैन । बद्री म्युजिक भिडियोमा भने बेलाबेलामा प्रस्तुत हुँदै आएका छन् । बद्रीको यो नयाँ गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । जसमा अर्जुन तिवारीको छायांकन रहेको छ ।

सडक साधकका रूपमा परिचित प्रज्वल कुमाललाई विमोचन कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा कुमालले भने, ‘बद्री पंगेनीका हरेक गीत समाजसँग जोडिएका हुने र अहिलेको गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास मेरो रहेको छ ।’ कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले नेपाली लोकगीतको क्षेत्रमा गायक बद्री पंगेनीको योगदान अतुलनीय रहेको र अहिलेको सिर्जनाले पनि दर्शक तथा स्रोताको मन जित्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे