ठाकुरबाबा नगरपालिकालाई ‘उत्कृष्ट स्थानीय तह सम्मान’

बर्दिया । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा ठाकुरबाबा नगरपालिकालाई सम्मानित गरेको छ ।

मुलुकभरका स्थानीय पालिकामध्ये बर्दिया ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण तथा उदाहरणीय कार्य गरेको भन्दै शिक्षा पत्रकार समूहले सम्मान गरेको हो ।
२५ वर्षअघि स्थापना भएको शिक्षा पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम मनाउँदै ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका नवीनतम तथा महत्वपूर्ण अभ्यासलाई उच्च प्राथमिकतामा राखी सम्मान गरिएको जनाएको छ ।

रजत जयन्तीका अवसरमा शनिबार राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले २०७९ सालबाट सुरु गरेको निःशुल्क शिक्षा कार्यान्वयन, तहगत शिक्षक दरबन्दी मिलान, शिक्षक बैंक स्थापनालगायत शिक्षा क्षेत्रमा धेरै ठूलो लगानी गरेकाले मुलुकभरबाट ‘उत्कृष्ट स्थानीय तह सम्मान–२०८०’ बाट सम्मानित भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिए ।

नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालसहितको टोलीलाई शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक प्राध्यापक डाक्टर विद्यानाथ कोइराला र शिक्षामन्त्री अशोककुमार राईले सम्मानपत्र प्रदान गरेको नगरप्रमुख लम्सालले जानकारी दिए ।

शिक्षा क्षेत्रमा आफ्नो पालिकामा गरेको कार्यको मूल्यांकन गरी पालिका परिवारलाई प्रशंसासहित सम्मानित गरेकामा आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर उकास्दै शिक्षा क्षेत्रमा अझै थप राम्रा काम गर्ने हौसला प्रदान भएको नगरप्रमुख लम्सालले बताए ।

ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रयासमा मूल्यांकन गरी सम्मान प्रदान गरेकामा शिक्षा पत्रकार समूहलाई आभारसहित कृतज्ञता ज्ञापन गर्दै नगरप्रमुख लम्सालले पालिकाले लिएको शिक्षा नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई आभारसहित धन्यबाद प्रदान गरेका छन् ।

पालिकाले कुल बजेटको ३४ दशमलव २ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरेको जनाएको छ, जुन सबैभन्दा बढी हो । ठाकुरबाबा नगरपालिकामा २३ सामुदायिक र १२ संस्थागत गरी जम्मा ३५ विद्यालय छन् ।

सामुदायिक विद्यालयमा स्थायी र करारमा गरी जम्मा ३ सय ८० जना शिक्षक तथा कर्मचारी रहेका छन् । पालिकाका सामुदायिक विद्यालयमा हाल ९ हजार ८ सय ४२ विद्यार्थी अध्ययनरत रहेको पालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द