कार्यवाहक नगरप्रमुखसहित विपक्षी बनाइएको रिटमा अन्तरिम आदेश

राजविराज । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले नगरपालिकाको निर्णयविरुद्ध दिएको उत्प्रेषण मुद्दामा अदालतले यसअघि उनको पक्षमा गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

आफूलाई गैरकानुनी ढंगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरुङले कार्यवाहक नगरप्रमुख इसरत परविनसहित राजविराज नगरपालिका कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुर–राजविराज इजलासमा रिट दायर गरेका थिए ।

दुवै पक्षको ६ घण्टा लामो बहसपश्चात् आइतबार न्यायाधीश अर्जुन अधिकारी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि २ फागुनमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश जारी गरेको हो ।

सुनुवाइका क्रममा विपक्षी बनाइएका नगरपालिका र कार्यवाहक प्रमुखका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गर्दा रिट निवेदक प्रमुख प्रशासकीय अधिकृत गुरुङले भने कुनै कानुन व्यवसायी नराखी आफू स्वयं नै बहसमा सहभागी भएका थिए ।

गत १ फागुनमा नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध गुरुङ अदालत पुगेका थिए । अधिकृत गुरुङले २ फागुनमा सो निर्णय बदरका लागि उत्प्रेषण आदेश गरी पाऊ भन्दै अदालतमा रिट दर्ता गरेका थिए ।

सो रिटउपर सुनुवाइ गर्दै २ फागुनमा न्यायाधीश कौशलचन्द्र सुवेदीको इजलासले निवेदकको मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने ? आदेश जारी नहुनुपर्ने कुनै आधार र कारण भए सोसमेत उल्लेख गरी १५ दिनभित्र आफै वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी नगरपालिकाको नाममा आदेश जारी गरेको थियो । आदेशमा ६ फागुनमा दुवै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै सो प्रयोजनका लागि पेसीसमेत तोकिएको थियो ।

त्यस्तै, आदेशमा अन्तरिम आदेशको छलफलका लागि पेसी तोकिएको मितिसम्म निवेदकलाई हाजिर भई नियमित कामकाज गर्न अवरोध नगर्नू÷गर्न नदिनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको समेत उल्लेख गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता