दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको हो ।
प्रदेश निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरेको हो । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरू बनाउनसक्ने व्यवस्थानुसार प्रदेश निजामती सेवा नियमावली २०८० ल्याइएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए । केही समयअघि सरकार बनेलगतै प्रदेश निजामती सेवा ऐन जारी भएको थियो । सोही आधारमा सरकारले नियमावली ल्याएको हो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीको व्यवस्थापन र वृृद्धि विकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए । उनले प्रदेशका निजामती कर्मचारीका लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए ।
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले ‘प्रदेशका आयोजनाको बहुवर्र्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ । सुशासन, विकास, समृद्धिका लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारिता ल्याउन बहुवर्षीय आयोजनाको समुचित व्यवस्थापन गर्नुपर्ने भएकाले मापदण्ड स्वीकृत गरिएको प्रवक्ता पाण्डेयले बताए ।






