राजधानीकर्मी रेग्मीसहित पाँच पत्रकार पुरस्कृत

इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन् ।

‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु ।’

उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने कलमजीवीहरू रहेको बताइन् । उपसभामुख रानाले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो । खासगरी पत्रकारिताका कारण भ्रष्टाचार शून्य हुन पनि सहज पुग्छ ।’

उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन् । उक्त कार्यक्रमको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मानसमेत गरियो । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिमध्ये सुब्बा २०२९ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् । लम्साल ३० को दशकदेखि नै पत्रकारिता पेसामा आवद्ध रहेका छन् । उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो । यसैगरी बराल चार दशकयता पत्रकारितामा आवद्ध छन् ।

कार्की २०२० को दशकदेखि पत्रकारितामा आवद्ध छन् भने आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् । यसैगरी चेम्जोङ पञ्चायती व्यवस्थाको विरुद्धमा कलम चलाउँदै आएका छन् । राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन् ।

यसैगरी सृजनशील पत्रकारिता पुरस्कारबाट राजधानीकर्मी विवेक विवश रेग्मी पुरस्कृत भएका छन् । राजधानी दैनिकमा आवद्ध रेग्मी करिब एक दशकदेखि पत्रकारितामा आवद्ध छन् ।

यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारबाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी र टीका खतिवडालाई सम्मान गरियो । पुरस्कृत व्यक्तिहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु¥याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो । यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो ।

कम्पनीका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका बरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताए ।

उनकाअनुसार मिडिया हाउसले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका कार्यक्रम सम्प्रेषण गर्दै आएको छ । पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै आफूहरूले सत्य, तथ्य र निष्पक्ष रही पत्रकारिता गर्दै आएको उनको भनाइ छ । ‘हामीले जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्ने उदेश्यले निरन्तर जनताका आवाजलाई मुखरित गरिरहेका छौँ,’ अधिकारीले भने, ‘पत्रकारिता क्षेत्र जिम्मेवारसँगै जनतालाई सुसूचित गराउनमा हामी प्रतिबद्ध छौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न : नेताको श्रीमती भएर सहजै टिकट पाउनुभएको हो ?