खराब आचरणको आरोप लागेका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त

काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको हो । त्यस्तै २ करोड घुस डिलको अडियो टेप प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइरालालाई भने निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ ।

बर्खास्तीमा परेका न्यायाधीश थपलिया भने पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर मुद्दाको सेटिङ गर्ने आरोपमा जिम्मेवारी खोसिएको थियो । थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्मा तानिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थपलियालाई न्याय परिषद्मा तान्ने टिप्पणी सदर गरेका थिए ।

न्याय परिषद्मा परेको उजुरीमा पनि थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको र फैसला प्रभावित बनाएको उल्लेख थियो । ती उजुरीसँगै केही अडियो प्रमाण तथा कल डिटेल्स पनि समावेश गरिएको परिषद् स्रोतको दाबी थियो । न्याय परिषद् ऐन, २०७३ को दफा १७ अनुसार थपलियाको सम्बन्धमा परेको उजुरीमाथि छानबिन भई दफा १८ बमोजिम प्रारम्भिक छानबिन भएको थियो ।

कारबाही गर्नुपूर्व न्यायपरिषद्ले उनलाई सफाइ पेस गर्न अन्तिम मौकास्वरूप स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि आइतबारको न्याय परिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । थपलियालाई प्रधानन्यायाधीश राणाले २०७५ चैत १९ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया काम गरेको पुष्टि भएको उल्लेख छ । न्यायाधीश श्रेष्ठ नेतृत्वको जाँचबुझ समितिले गत वर्ष नै बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया बनेर मुद्दाका पक्षबाट ठूलो रकम उठाउने गरेको औंल्याएको छ । उनले तत्कालीन प्रधानन्यायाधीश राणाको नाम लिएर सबै प्रकारको सेटिङ मिलाइदिने र त्यसका लागि रकम आवश्यक पर्ने भनेर बिचौलियाको भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । थपलियाले लैनचौरस्थित होटल एम्बासडरमा एक महिलासँग ६० लाख रुपैयाँ बुझेको तथ्य जाँचबुझका क्रममा फेला परेको थियो । ती महिला सम्पत्तिसम्बन्धी मुद्दामा कानुनी लडाइँमा थिइन् ।

थपलियाले युनिटी ठगी प्रकरणमा पनि मुद्दा मिलाइदिने भनेर ३ करोड रुपैयाँको चलखेल गरेको पाइएको छ । सर्वसाधारणबाट ६ अर्ब रुपैयाँभन्दा बढी ठगीको अभियोग लागेका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकबाट उनले त्यो रकम लिएको विवरण प्रतिवेदनमा थियो । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

न्याय परिषद् ऐन, २०७३ को दफा १७, १८ र १९ का आधारमा उनीहरूलाई संविधानको धारा १४२ तथा १४९ को आधारमा पदमुक्त गर्न परिषद्ले गरेको सिफारिस प्रधानन्यायाधीशबाट कार्यान्वयन भएको छ । संविधानको धारा १४२ को उपधारा १ को खण्ड ‘ग’मा उच्च अदालतका न्यायाधीश पदमुक्त हुनेसम्बन्धी व्यवस्था छ । सो खण्डमा ‘कार्यक्षमताको अभाव, खराब आचरण, इमानदारीपूर्वक आप्mनो कर्तव्यको पालन नगरेको, बदनियतपूर्वक कामकारबाही गरेको वा निजले पालन गर्नुपर्ने आचारसंहिताको गम्भीर उल्लंघन गरेको आधारमा न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले पदमुक्त गरेमा’ उच्च अदालतको न्यायाधीश पदमुक्त हुने व्यवस्था छ ।

बर्खास्तीका परेका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला २०७८ चैत १४ गतेदेखि जिम्मेवारीविहीन बनाइएका थिए । संविधानको धारा १४९ को उपधारा ६ को खण्ड ‘ग’बमोजिम जिल्ला न्यायाधीश निरौला बर्खास्तीमा परेका हुन् । धारा १४९ मा जिल्ला न्यायाधीशको नियुक्ति तथा पदमुक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

निरौलाले अपहरणकार तथा शरीर बन्धकसम्बन्धी एक मुद्दामा अपहरणकारीलाई उन्मुक्ति दिने फैसला गरेपछि छानबिनका लागि न्याय परिषद् तानिएका थिए । पर्याप्त आधार र प्रमाण हुँदाहुँदै भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावलका अपहरणकारी सोले र कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई न्यायाधीश निरौलाले उन्मुक्ति दिएका थिए ।

बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको भन्दै फैसला गरेपछि उनी निकै विवादमा तानिएका थिए । पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो । २ पुस २०६५ सालमा बालाजु औद्योगिक क्षेत्र हाताबाट भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलका छोरा बाबुराजा रावल अपहरणमा परेका थिए ।

अपहरणमा परेपछि रावल परिवारले १ करोड २० लाख रुपैयाँ फिरौती बुझाएर रावललाई अपहरणमुक्त गरेको थियो । त्यसलगत्तै रावल परिवारले प्रहरीमा जाहेरी दिएको थियो । अनुसन्धानपछि प्रहरीले घटनामा संलग्नविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो ।

अपहरणमा संलग्नमध्ये प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्कीलगायतका प्रतिवादी तत्कालै पक्राउ परी उनीहरूमाथि मुद्दा चलेर दोषी ठहरसमेत भइसकेको थियो । घटनामा संलग्न भए पनि सोले र कुमार बुढाथोकी उपनाम भएका दुर्गाबहादुर बुढाथोकी भने घटना लगत्तै फरार भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी