केबलकारमा यात्रा गर्दा डराउनु पर्दैन, सशस्त्रको उद्धारक टोली उद्धारमा तयार छ

काठमाडौं । केवलकारमा यात्रा गर्दै गर्दा जुनसुकै समयमा प्राकृतिक तथा यान्त्रिक खराबीका कारण यात्रुहरूबीच बाटोमै रोकिन सक्छन् । नेपाल, छिमेकी मुलुक भारतसहित विभिन्न देशमा यस्ता घटना छिटपुट रूपमा नभएका पनि होइनन् । केबलकारमा यात्रा गर्दै गर्दा बीचमै समस्या आए यात्रुहरू आत्तिने, डराउने, मृत्यु नै हुने हो कि भन्ने सम्ममा पुग्छन् ।

हो, यदि तपाईंहरूले केबलकार चढ्दै गर्दा डर पालिरहनुभएको छ भने त्यसलाई हटाइहाल्नुस् । केबलकार सञ्चालक र सुरक्षा निकायले प्राकृतिक तथा यान्त्रिक खराबीका कारण बीच बाटोमै रोकिएका यात्रुहरूलाई सुरक्षित साथ अवतरण गराउन मानव संसाधन तथा स्रोतको पर्याप्त तयारी गरिसकेका छन् । जसका कारण डराउनुपर्ने कुनै कारण छैन ।

केबलकारमा यात्रा गर्दा सुरक्षा एवं उद्धार अति नै चुनौतीपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनी काठमाडौं र चन्द्रागिरी हिल्स प्रालिले मंगलबार चन्द्रागिरीमा संयुक्त उद्धार अभ्यास गरेको थियो । त्यसक्रममा क्याबिन ८ र २० मा अड्किएका पाँच जनालाई सशस्त्र प्रहरी बल नेपालका तर्फबाट विपद् व्यवस्थापन तालिम प्राप्त उद्धारक र चन्द्रागिरी हिल्स प्रालिका उद्धारकर्मीले क्याबिनदेखि जमिनको सतहसम्म सुरक्षित साथ उद्धार गरेको दृश्य देखाइएको थियो ।

सो कार्यक्रमको उद्देश्य नेपालमा उदयीमान केवलकार प्रविधिमा हुन सक्ने जुनसुकै आपत्तकालीन अवस्थामा उद्धार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपाल र केबलकार सञ्चालकबीच आआफ्नो मानव संसाधन, स्रोतको अवस्था, सामथ्र्य एवं दुई संस्थाबीच सहकार्यलाई प्रभावकारी बनाउँदै समग्र केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनुरहेको थियो । ‘सिमुलसन’ अभ्यासमा दुईवटा फरक–फरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तलतर्फ र माथिबाट दायाँ वा बायाँ सुरक्षित स्थानतर्फ क्याबिनमा सवार यात्रुलाई प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिको प्रदर्शन गरिएको थियो ।

दुईवटा क्याबिनमध्ये एउटा अलि सहज र अर्काे अत्यन्तै असहज अवस्थामा फसेको थियो । असहज अवस्थामा रहेको क्याबिनको हकमा त्यसको ठिक तल जमिनको भागतर्फ भिर तथा खोच इलाका रहेको कारण तलतर्फ उद्धार गर्दा यात्रुहरू भिर तथा खोचमा फस्न सक्ने अवस्था भएकाले दायाँ वा बायाँतर्फको सुरक्षित स्थानमा उद्धार गर्न ट्र्यांगल रोप विधिको प्रयोग गरिएको थियो ।

उद्धारका लागि सशस्त्र प्रहरीको उद्धारकर्ता टावरमा चढी सुरुमा डोरीमा फिट गर्न मिल्ने साइकलको माध्यमबाट क्याबिनसम्म पुगेका थिए । त्यहाँबाट विभिन्न डोरीको मद्दत र सडक तथा जंगलमा रहेका सशस्त्र प्रहरीसँग समन्वय गरी उद्धार गरिएको थियो ।

उद्धार अभ्यासमा सशस्त्र प्रहरी बल नेपालका तर्फबाट विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना उद्धारक र चन्द्रागिरी हिल्स प्रालिका तर्फबाट ८ जना उद्धारकर्मी गरी जम्मा ३४ जना सहभागी थिए ।

चन्द्रागिरी केबलकारको लम्बाइ २ दशमलव ५ किलोमिटर रहेको छ । जसमा ३८ वटा क्याबिन सञ्चालनमा छन् । यसको प्रतिक्याबिन भारबहन क्षमता ८ जनासम्म रहेको छ । यसमा प्रयोग भएको केबलको गोलाइ ४८ मिलिमिटर रहेको छ भने जम्मा ११ वटा टावर प्रयोग गरिएका छन् ।

पशुपतिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले आआफ्नो मानव संसाधन तथा स्रोतको अवस्था, सामथ्र्य एवं दुई संस्थाबीच सहकार्यलाई निष्कर्षमुखी बनाउँदै समग्र केवलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

‘जुनसुकै समयमा प्राकृतिक तथा यान्त्रिक खराबीका कारणले केबलकारमा सवार यात्रुहरूबीच बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना अत्याधिक रहन्छ र यसरी रोकिएका यात्रुलाई तीन घण्टाभित्र सुरक्षित अवतरण गराउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ, राष्ट्रका विशिष्ट व्यक्ति, विदेशी पर्यटक समेत चढ्ने केवलकारको आपत्कालीन प्रतिकार्य नेपाल राष्ट्रको सुरक्षा छविमा समेत जोडिएको हुन्छ । यति महत्वपूर्ण क्षेत्रको सुरक्षामा आपत्कालीन अवस्थाको उद्धार र प्रतिकार्यका लागि सञ्चालन भएको यो अभ्यासले सम्बद्ध सबैको कला, कौशल र सीप विकास हुनुका साथै समन्वय र सहकार्यमा थप सहजता प्रदान गर्नेछ,’ बाहिनीपति थापाले भने ।

उनले आन्तरिक तथा विदेशी पर्यटकको काठमाडौं उपत्यकाभित्रको मुख्य रोजाइको स्थलमध्येमा अग्रपंतिमा पर्ने चन्द्रागिरि हिल्स क्षेत्रमा दैनिकरूपमा भ्रमण गर्ने ठूलो संख्याका भ्रमणकर्ता एवं पर्यटकको सुरक्षालाई दृष्टिगत गरी आपत्कालीन अवस्थाको उद्धारमा चन्द्रागिरि हिल्स लिमिटेडले देखाएको चासो, तत्परता र सहकार्यको मुक्तकण्ठले प्रशंसासमेत गरे ।

उनले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समयमा बीआईआरडी अवधारणालाई प्राथमिकतामा राखेको र यसैअन्तर्गतको एउटा कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने संगठनको नीति रहेको बताए ।

विपद् उद्धारकार्य आफंैमा जोखिमपूर्ण हुने बताउँदै बाहिनीपति थापाले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनमा प्रयोग हुने विभिन्न सीपलगायतका सबै क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी कठिन परिस्थिति एवं विषम भौगोलिक क्षेत्रमा समेत प्रभावकारी कार्य सम्पादन गर्न सक्षम रहेको बताए । उनले विपद् जोखिम न्यूनीकरणको अर्को महत्वपूर्ण पक्ष भनेको आम जनचेतना भएको बताउँदै सशस्त्र प्रहरीले यसका लागि विभिन्न विपद्जन्य घटनामा आधारित रही समुदायमा आधारित विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम अभियानका रूपमा २०७० सालदेखि सञ्चालन गर्दै आइरहेको छ र सो कार्यलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्दै जाने बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका सीईओ अरूण प्रधानले भूराजनैतिक दृष्टिकोणले नेपालमा केवलकार प्रविधि एक अत्यन्तै नवीनतम एवं उदीयमान विकासका रूपमा स्थापित भइसकेको बताउँदै यो प्रविधि वातावरणीय तथा पर्यावरणमैत्री भएको र यसले राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक भूमिका निर्वाह गर्दै आएको बताए । उनले यसको सान्दर्भिकता एवं माग बढ्दो रहेको बताउँदै यो अभ्यासपछि आत्मबल बढेको बताए ।

विश्व इतिहासमा हेर्दा सर्वप्रथम केवलकारको आविष्कार तथा प्रयोग एन्ड्रोले सन फ्रान्सिस्को मा सन् १८७३ मे महिनामा गरेका थिए । हाल यस प्रविधिको प्रयोग सबैभन्दा बढी बोलिभियामा भएको पाइन्छ । नेपालमा सर्वप्रथम केवलकारको प्रयोग सन् १९९८ मा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले मनकामना दर्शन प्रालिको नाममा चितवनको कुरिनटारबाट गोरखा जिल्लाको मनकामना मन्दिरसम्म पुग्नका लागि स्थापना गरेका थिए ।

हाल नेपालमा ५ वटा केवलकार सञ्चालनमा रहेको छ भने विश्वकै सबैभन्दा लामो दूरीको करिब ८० किलोमिटर लम्बाइ रहनेगरी मुक्तिनाथ केबलकार बन्ने क्रममा रहेको छ । साथै विभिन्न स्थानमा निर्माण कार्य तथा सम्भाव्यता अध्ययन भइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही