काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र पनि नेपालसँगै बिदेशमा समेत रिलिज हुन थालेका छन् । यसैक्रममा चलचित्र महाजात्राको पनि नेपालसँगै सोही मितिमा बिदेशमा रिलिज हुने घोषणा यसको निर्माण पक्षले गरेको छ ।
षट्कोण आर्टसले निर्माण गरेको जात्रा चलचित्रको तेस्रो भाग महाजात्रा नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार एमएसएम इन्टरटेन्मेन्टस्ले लिएको र सो कम्पनीले बिदेशमा पनि सोही मितिमा रिलिज गर्न लागेको यसका निर्देशक प्रदीप भट्टराईले जनाएका छन् । यो चलचित्रलाई आगामी ९ चैतबाट काठमाडौंसँगै संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायतका देशमा रिलिज गर्न लागिएको हो ।
यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा कथा बुनेर यसमा प्रस्तुत गरिएको महाजात्राको लेखक तथा निर्देशन प्रदीप भट्टराईले जानकारी गराएका छन् ।
यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माण गरेका हुन् । जसमा पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार रहेका छन् ।






