हङकङ । हङकङले घातक कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै चीनबाट आउनेलाई दुई साता क्वारेन्टाइनमा राख्न सुरु गरेको छ ।
नयाँ नियमअनुसार चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ । स्थानीय आफ्नै घरमा बस्नुपर्नेछ । नयाँ नियम उल्लंघन गरेको पाइएमा जरिमाना तिराउने वा जेल हाल्ने चेतावनी दिइएको छ ।
मृत्यु हुनेको संख्या ७२२
यसैबीच, चीनबाट सुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७ सय २२ पुगेको छ ।
मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । उनीहरूले ६० वर्षीय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन् ।
त्यसैगरी, ६० वर्षीय जापानीको पनि कोरोना भाइरसकै कारण वुहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ । सरकारी अधिकारीका अनुसार ३ हजार ५ सय जनामा यस भाइरसको संक्रमण देखिएको छ ।
कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई जनाको मृत्यु भएको छ । उनीहरू दुवै जना चिनियाँ नागरिक नै हुन् । डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार उहानमा पहिलोपटक देखापरेको नयाँ कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ ।
विश्वका झन्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कूल ३ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने वुहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आईसीयू स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूमध्ये ३ हजार जना सघन उपचारकक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले बताए । अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाइ छ ।
चीनमा अहिलेसम्म ३५ हजार ५ सय ४६ लाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । चीनबाहिर २५ देशमा २ सय ७० जनालाई सो भाइरस संक्रमण भएको छ । हङकङमा २६ जनामा संक्रमण पुष्टि भएको छ ।
सीमावर्ती चिनियाँ सहर सानजेनमा १०औं हजार मानिसहरू मध्यरातका लागि तोकिएको समयसीमाअगावै सीमा पार गर्न लाम लागेका थिए । तर, शनिबार बिहानसम्म सान्जेन स्थित बन्दरगाह पार गर्न थोरै मानिस आएका थिए ।
शुक्रबार विश्व स्वास्थ्य संगठनले चीनमा गत दुई दिनमा संक्रमण हुने संख्या रिपोर्ट गरिएको भनिएपछि सकारात्मक रूपमा लिइएको छ । तर, डब्लूएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको संंख्या’bout धेरै विश्लेषण गर्न नहुनेमा सतर्क गराए ।
उनले संवाददातालाई कोरोना भाइरस प्रकोपले विश्वव्यापी रूपमा औषधिजन्य वस्तुहरू, गाउन, मास्क र पन्जाको अभाव भएको बताए । गेब्रेयेससले भने, ‘जब वस्तु कम उपलब्ध हुन्छ र माग बढी हुन्छ, त्यसबेला झन् धेरै जम्मा पार्ने र चर्को मूल्यमा बिक्री गर्ने नराम्रो प्रवृत्ति देखा पर्न सक्छ ।’
उनले यस्ता वस्तु उपलब्ध गराउने व्यवसायीलाई नाफा बढाउने उपाय खोज्न भन्दा मानवीयता जोगाउन आग्रह गरेका छन् ।
डब्लूएचओको नयाँ तथ्यांक अनुसार १७ हजार संक्रमित मध्ये ८२ प्रतिशतमा मध्यम प्रभाव परेको, १५ प्रतिशतमा नराम्रो प्रभाव परेको र ३ प्रतिशत गम्भीर जोखिममा परेको पाइएको छ ।