काठमाडौं । लोक गायक बिष्णु खत्रीले आफ्नो गीतको शिर्षकको प्रतिलिपि अधिकार हनन भएको बताएका छन् । आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै यी गायकले हालै बजारमा आएको गीत दुना टपरी…ले आफ्नो गीतको शिर्षक सम्बन्धि बौद्धिक अधिकार हनन गरेको बताएका हुन् ।
गायक खत्रीको डेढ दशक अघि ‘दुना टपरी…’मा गीत सार्वजनिक गरेका थिए । यो शिर्षकको थेगो, लय र नामसँग मिलाएर अन्य गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए । उनले लय तथा शब्दसँगै यो नाममा पनि प्रतिलिपि अधिकार दर्ता गराएका थिए ।
तर यतिबेला गायक मदन ढकालले दुना टपरी शिर्षकमै गीत ल्याएका छन् । गायक बिष्णु खत्रीले त्यो गीतको शिर्षक प्रति आपत्ती जनाएका छन् । उनले तत्कालै युट्युवबाट त्यो शिर्षक हटाएर अन्य शिर्षकमा गीत राख्न पनि ढकाललाई आग्रह गरेका छन् । आफ्नो आग्रहलाई नमानेको खण्डमा आफु प्रतिलिपि अधिकारमा न्यायको लागि जाने पनि बिष्णुको भनाई रहेको छ ।
यता गएको शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युव च्यानलबाट ‘मनै नपरी दुना टपरी…’ शिर्षकमा गीत प्रस्तुत गरिएको छ । यो गीतलाई निर्माता तथा गायक मदन ढकाल आफ्नो र सुनिता बुढाक्षेत्रीको स्वरमा प्रस्तुत गरेका हुन् ।
गायक मदनले बिष्णु खत्रीप्रतिको सम्मानलाई लिएर यो गीतको शिर्षक फेरबदल गरी ‘मनै नपरी दुना टपरी…’ राखिएको दाबी गरेका छन्,‘चलचित्र तथा पुस्तकको जस्तो नाममा प्रतिलिपि अधिकारको नियम छ जस्तो मलाई लाग्दैन । फेरी यसअघि पनि एउटै नाममा धेरै गीत सार्वजनिक भएका थुप्रै उदाहरणहरु छन् ।’ उनले अगाडि थपे,‘दुना टपरी नाममा पनि यसअघि अन्य गीत नआएका होइनन् । बिष्णु खत्री जत्तिको बौद्धिक ब्यक्तिले कुन कुरा उठाइरहेको छु उहाँले सोच्नुपर्ने कुरा हो ।’ बर्षौदेखीको गीतसंगीत क्षेत्रको योगदानलाई हेर्दै गायक खत्रीको सम्मानका लागी आफुले नाम फेरबदल गरेको पनि ढकालले बताएका छन् ।






