गण्डकी सरकारले दियो ओलम्पिक खेलाडीलाई मासिक भत्ता

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीबाट ओलम्पिक खेलमा सहभागी खेलाडीलाई मासिक भत्ता दिन थालेको छ । वार्षिक ६० हजार हुने गरी मासिकरुपमा ५ हजार नगद भत्ता दिन थालिएको हो ।

पोखरामा बुधबार आयोजित समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीका (साविक पश्चिमाञ्चल विकास क्षेत्रसहित) ओलम्पिकमा भाग लिएका ९ जना खेलाडीलाई सो भत्तासहित सम्मान गरे ।

सम्मानित हुनेमा बागलुङकी भगवती खत्री, गोरखाका टीकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सीताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनीषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन् । हाल विदेश भएकोले नारायण र तिलकराम उपस्थित भएनन् ।

मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबीचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई, सधैँ रहिरहोस् भन्ने विचार व्यक्त गरे । ‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो,’ मुख्यमन्त्री पाण्डेले भने । यो कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनको भनाइ छ ।

यसैगरी, सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सूचीकृत ५ सय ९४ जना रेफ्री तथा कोच र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी १ सय खेलाडीको स्वास्थ्य बिमासमेत गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

सदस्यसचिव शर्माले जसले राष्ट्रको लागि खेल्यो, उसको सम्मान हुनुपर्छ भन्ने हेतुले यो परम्परा बसाइएको बताए । उनले खेल क्षेत्रको विकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नति, विद्यालय, जिल्लास्तरीय प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !