मकवानपुर । सत्ता समिकरण परिवर्तन भएपछि बागमती प्रदेशका ६ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् । यो सँगै नेपाली काँग्रेसले संसदलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको जनाएको छ ।
केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिं लामा, उपनेता समेत रहेका प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जनले मुख्यमन्त्री समक्ष राजिनामा दिएका हुन् । राजीनामा बुझाउने क्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा भने उपस्थिति भएनन् ।
अर्थमन्त्री रहेका लामा विदेश भ्रमणमा रहेकाले काँग्रेसले आफूहरु सरकारको समर्थन फिर्ता लिने निर्णय ढीलोगरी लिएको हो । निर्णयपछि पार्टीले प्रदेश राजधानी बाहिर रहेका मन्त्रीहरुलाई हेटौँडा आउन निर्देशन दिइएको थियो । अर्थमन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा बुधबार नै स्वदेश फिर्ता भएका हुन् ।
बुधबार बिहान मात्रै उपनेता चित्रकार र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको थियो । बागमतीमा १२ सदस्यीय मन्त्रीपरिषद्मा प्रदेश सभाको ठुलो दलको हैसियतले कांग्रेसको भागमा ६ मन्त्रालय थिए ।
अर्थमन्त्रीमा बहादुरसिंह लामा र खानेपानी मन्त्री तीर्थबहादुर लामा २६ चैत २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए। वनमन्त्री खड्का, उद्योगमन्त्री चित्रकार, स्वास्थ्यमन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए । संसदीय दलको उपनेता समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारबाट बाहिरिएसँगै कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने गरी समीकरण निर्माणमा अघि बढ्ने तयारी गरिएको उनले बताए ।
बजेट नै नभएको मन्त्रालयमा आफूले धेरै काम गर्न सकेको भन्दै उपनेता चित्रकारले आफ्नो कार्याकालमा सन्तुष्ट हुनेगरी काम गरेको बताए । उद्योग ग्राम स्थापनाको लागि संसदमा विधेयक दर्ता गरेको तर पास गराउन नपाएको भने दुख लागेको उनले बताए ।
संकटमा प्रदेश सरकार
११० सदस्यीय बागमती प्रदेशसभा कुनै पनि दलको एकल बहुमत छैन, नेपाली काँग्रेस सबैभन्दा ठुलो दल हो । नयाँ गठबन्धनमा आबद्ध एमालेका २७ र माओवादी केन्द्रका २१ सांसद छन् । बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्दछ । तर एमाले र माओवादी केन्द्रका गरी जम्मा ४८ सांसदमात्र हुन्छन् । केन्द्रको सत्ता गठबन्धनमा आबद्ध अन्य दल बागमती प्रदेशसभामा छैनन् । त्यसैले माओवादी केन्द्र र एमालेले बहुमतका लागि आवश्यक थप ८ सांसदको समर्थन कहाँबाट जुटाउने भन्ने प्रस्ट हुन सकेको छैन । प्रदेशसभामा एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
राप्रपाले सरकारमा जाने इच्छा नदेखाएपछि हाम्रो नेपाली पार्टी निर्णायक दल बन्न पुगेको छ । २ जनामात्रै सांसद भएको दल नै निर्णयक भूमिकामा पुगेपछि प्रदेश सरकारको समिकरण रमाइलो भन्दै आएको एक जना पत्रकारले बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले केन्द्रीय समीकरण अनुसार सरकार फेरबदल’bout तत्काल यसै भन्न सक्ने अवस्था नरहेको बताए । नयाँ समीकरणको निर्णय र निर्देशन प्राप्त भएपछि सरकारको विषयमा ठोस निर्णय हुने उनको भनाइ छ । नेपाली कांग्रेस पनि प्रदेश सरकारको विषयमा ‘पर्ख र हेर’को नीतिमा छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सत्ता समीकरणका विषयमा अहिले नै ठोस निष्कर्ष दिन उचित भएको बताए । बुधबार नै सकारबाट बाहिएको नेपाली काँग्रेसका उपनेता चित्रकारले राजनीति भनेको संभावनाको खेला भएको बताउँदै भने ‘संभावना रहेसम्म के हुन्छ त्यो गरिन्छ, सरकार गठनबाट नयाँ निर्णय पनि आउन सक्छ ।”






