अभिभावकमा हुनुपर्ने शिष्टता

अभिभावकले आफूभन्दा सानाबाट शिष्टताको अपेक्षा गर्छन् । यसका लागि साना नानीलाई दुःख पनि दिन्छन् । अनावश्यक डाँट्ने, पिट्ने र हप्काउने गर्छन् । तर, आफू भने छाडा बोल्ने, मदिरा सेवन गर्ने र जथाभावी व्यवहार गर्न हिच्किचाउँदैनन् । हुन त आफ्ना सन्तानले कहिल्यै पनि दुःख नपाऊन्, सधैं खुसी रहून् भन्ने उनीहरूको चाहना हुन्छ पनि । यस्तो चाहना अन्यथा पनि होइन । स्वाभाविक हो । आफ्ना सन्तानले दुःख पाएको, देख्दा जोकसैको पनि मन रुन्छ । मन शान्ति पनि हुँदैन ।

तर, आचारविचारका कुरा सबैमा समान रूपमा लागू हुन्छन् । केटाकेटीमा लागू हुने तर आफू भने पानीमाथिको ओभानो रहने हुँदैन । यसो भयो र अभिभावक आफैं नकारात्मक बानी र लतको सिकार छन् भने आफ्ना सन्ततिलाई राम्रो बनाउँछुभन्दा झनै नराम्रो असर पर्न जान्छ । कतिपय अवस्थामा राम्रै गर्छुभन्दा पनि नराम्रो अवस्था सिर्जना हुन पुग्छ ।

राम्रो बानी भएका अभिभावकले पनि कहिलेकाँही वा सधैं गरेको व्यवहारले बालबालिकामा नराम्रो बानी बसालिदिन सक्छ । बालबालिका आफैंमा माया र बात्सल्यको चाहना बढी राख्छन् । तर, आवश्यकताभन्दा धेरै मायाले उनीहरूमा नराम्रो बानी बसालिदिन सक्छ ।

जसका पनि सन्तान आमाबाबुको माध्यमबाट संसारमा आउँछन् । तर, पनि ती कुनै पनि बाबुआमाका मात्र सम्पत्ति वा सन्तान होइनन् । उनीहरू खलिल जिब्रानले भने झैं संसारका सन्तान हुन् । त्यसैले अभिभावकले उनीहरूलाई माया गर्नुको सीमा हुन्छ । यस कुराको हेक्का अभिभावकले गर्नैपर्छ । बच्चा सक्षम हुँदै गएपछि उसलाई आत्मनिर्भर हुनतिर प्रेरित गर्नुपर्छ । जहिले पनि काखमा लिइराख्ने, आफ्नै हातले खाना खुवाउने, कपडा लगाइदिनेजस्ता अधिक माया गर्नुहुँदैन । बच्चा आफू आत्मनिर्भर हुन र स्वाभिमान हुन चाहन्छन् ।

बच्चा हुर्किएपछि साथीहरूसँग घुलमिल हुन दिनुपर्छ । यसले बच्चाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक अनुभवपूर्ण व्यवहारको विकास गराउँछ । अभिभावक बाहिर अरू कसैसँग परेको रिस वा हार घरमा आएर बच्चामा पोख्ने गर्नुहुँदैन । यसले बच्चामा अभिभावकप्रति नकारात्मक असर पार्छ । अभिभावकप्रतिको मानसम्मानमा ह्रास ल्याउँछ । यसले डर, घृणा र रिस उत्पन्न गराउँछ ।

बच्चालाई अरूसँग तुलना गरेर यो वा त्यो भन्नु हुँदैन । यो प्रेरणा हुन सक्दैन । प्रतिस्पर्धा वा तुलना गर्दा बच्चाले राम्रो कुरा सिक्छ भन्ने बुझाइ गलत हो । यसले डाह, इष्र्या र जलन हुने स्वभावको विकास गराउँछ । अरू बच्चासँग तुलना गरेर उसलाई अनावश्यक दबाब दिनुहुँदैन । अरूसँग तुलना गरेर फुक्र्याउँदा दम्भी र अहंकारी बन्ने तथा अरूजस्तो नभएको भनी होच्याउँदा हीनताबोध उत्पन्न हुन्छ । पछि आफ्नो करियरमा नराम्रो असर परेमा बच्चाले अभिभावकलाई दोषी करार गर्छन् ।

यसका साथै बच्चासँग नबोल्ने वा जे पायो त्यही सबैथोक बोलिदिने पनि गर्नुहुँदैन । जे भन्यो त्यही ल्याइदिने पनि गर्नुहुँदैन । बच्चाको अस्तित्व स्वीकार गरिनुपर्छ । बच्चालाई पढ भन्ने तर आफू मोबाइलमा गिज्जिने, जिस्कने, चल्ने र रमाइलो गर्ने गर्नुहुँदैन । यस्ता अभिभावकलाई बच्चाले घृणा गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन