बिदेसिने कामदार घटे पनि रेमिट्यान्स वृद्धि

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको संख्या घट्दै गए पनि रेमिट्यान्स आप्रवाहमा भने वृद्धि हुन थालेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ४ लाख ५ हजार ५ सय ५२ जना वैदेशिक रोजगारीमा पुगेका छन् । गत वर्षको सोही अवधिमा ४ लाख ८२ हजार ४ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए ।

वैदैशिक रोजगारीमा जाने श्रमिकहरूबाट गत वर्ष ७ महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएकामा यस वर्ष भने ७ महिनाको अवधिमा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

मुलुकको समग्र आर्थिक स्थिति मजबुत अवस्थामा

राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव १ प्रतिशतले बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवमा श्रम स्वीकृति लिएर जाने नयाँ नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ ३ लाख १४ हजार ७ सय ६७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशन गरेको तथ्यांकनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव शून्य १ प्रतिशत रहेको छ । मुद्रास्फीतिबराबर मूल्यवृद्धि हुने गर्छ ।

७ महिनामा आयात २ दशमलव ३ प्रतिशत, निर्यात ७ दशमलव १ प्रतिशत र कुल वस्तु व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहेको पनि उल्लेख गरिएको छ ।

७ महिनामा चालू खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको तथ्यांक नेपाल राष्ट्र बैंकको रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।

साउनदेखि माघसम्ममा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । नेपालबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधानान्तर बचत हुने गर्छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस आवको ७ महिनामा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

यसैगरी, गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १९ दशमलव ९ प्रतिशतले वृद्धि भई यस वर्ष माघ मसान्तसम्ममा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा २०८० माघ मसान्तमा १८ दशमलव ६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा माघ मसान्तमा २० दशमलव ७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकामा माघ मसान्तमा १४ दशमलव २ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आव २०८०–०८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति हेर्दा १४ दशमलव ७ महिनाको वस्तु आयात र १२ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाइएको छ ।

माघ महिनामा वार्षिक बिन्दुगत मूल्यवृद्धि ५ दशमलव शून्य १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७ दशमलव ८८ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ६ दशमलव ५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२ दशमलव ११ प्रतिशतले बढेको छ । यसैगरी, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव शून्य ६ प्रतिशत र तरकारीको ७ दशमलव ५८ प्रतिशतले मूल्य बढेको छ भने घिउ तथा तेल उपसमूहको १२ दशमलव ३३ प्रतिशतले मूल्य घटेको छ ।

यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १ दशमलव ४१ प्रतिशतले घटेको छ । माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ९६ प्रतिशत, तराईको ४ दशमलव ७१ प्रतिशत, पहाडको ५ दशमलव ५८ प्रतिशत र हिमालको ५ दशमलव ४४ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'