गुप्तेश्वर गुफाको लुप्त पाटो, प्रचारप्रसारको खाँचो

मकवानपुर । शिवरात्रिदेखि ग्याल्पो ल्होसारसम्मको बिदा मनाउन मकवानपुरबाट पर्वत पुगेकी हेटौंडा–२ की मिना पराजुलीलाई पर्वतको गुप्तेश्वर गुफाको आन्तरिक पाटो थाहा पाउँदा अझै खुल्दुली जाग्यो ।

धार्मिक तथा ऐतिहासिक कथा बोकेको यो गुफाको प्रचारप्रसार यथेष्ट नभएको उनले महसुस गरिन् । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा झन्डै ९० वर्षअगाडि पत्ता लागेको यो गुफा पर्यटनको आकर्षक गन्तव्यको भरपुर सम्भावना बोकेको स्थल हो ।

गुफाको ऐतिहासिक धार्मिक महत्व’bout अझै प्रचारप्रसार र संरक्षणका लागि स्थानीय सरकार तथा समुदायले पहल गर्नुपर्नेमा हेटौंडा–२ का वडासदस्य इन्द्र रिजाल पनि सहमत छन् । ‘यहाँको आन्तरिक पाटो जति महत्वपूर्ण छ, त्यति प्रचारप्रसार नभएरै यहाँ पर्यटकको भीड छैन,’ उनले भने, ‘बिदाको दिन खचाखच हुनुपर्ने स्थान हो यो ।’

‘धार्मिक पर्यटनको सम्भावना ज्यादै राम्रो रहेछ, अहिलेको पुस्ताले पौराणिक विशेषलाई बुझ्न सक्ने ठाउँ रहेछ, व्यवस्थापनमा अझै ध्यान दिनुपर्ने मैले महसुस गरें,’ हेटौंडा–२ का वडासचिव रामप्रसाद गुरागाईंले भने ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले महत्व राख्ने गुफा कुश्मादेखि करिब ५ सय मिटर उत्तर र कालीगण्डकी नदीदेखि करिब २ सय मिटर मात्रैको दूरीमा रहेको छ । करिब ७ किमी लम्बाइ रहेको गुफालाई नेपालकै सबैभन्दा लामो गुफाका रूपमा दाबी गरिँदै आएको छ ।

पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाऊँ भनी यही गुफामा ब्रत बस्ने गरेको किम्वदन्ती छ । गुफाभित्र पानी रसाइरहेको हुन्छ । वर्षौं पुराना चट्टानहरू खिइएर विभिन्न देवीदेवताका आकृतिहरू जस्तै देखिन्छन् ।

सत्ययुगमा भगवान् शिव गुप्त रहेको स्थलका रूपमा मानेर पनि यसको नाम ‘गुप्तेश्वर महादेव गुफा’ नामकरण भयो । किम्बदन्तीअनुसार महादेव र पार्वतीबीच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्तबास बसेकाले यो गुफालाई गुप्तेश्वर महादेव गुफा भनिएको भन्ने भनाइ पनि छ ।

हिन्दु धर्मग्रन्थ श्रीस्वस्थानी ब्रतकथा र शिवपुराणमा उल्लेख भएअनुसार परापूर्व कालमा कुशुमपुर र कुुशुम वाटिका (हालको कुश्माबजार)मा प्रशस्त फलफूल र कुश पाइन्थ्यो । अत्यधिक मात्रामा फलफूल र कुश पाइने कुशुमपुरबाट फलफूल र कुश टिपेर हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पति पाऊँ भनी पाङस्थित पार्वती गुफामा समेत तपस्या गरेको किम्वदन्ती पाइन्छ ।

सोही धार्मिक विश्वासका साथ महाशिवरात्रि, बाला चतुर्दशी, श्री स्वस्थानी ब्रतकथा अवधि, रामनवमी अन्य हरेक चाडपर्वको साथै प्रत्येक एकादशी र सोमबारका दिन गुफामा भक्तजनको घुइँचो लाग्ने गरेको छ । गुफा दर्शन गर्न जानेहरूका लागि गुफाभित्रै हिंड्नका लागि फलामे बाटो र विद्युतीय उज्यालोको व्यवस्था गरिएको छ ।

गुफाको लम्बाई करिब पाँच किलोमिटर रहेको भनिए पनि करिब सात सय मिटर भित्रसम्म मात्रै पुगेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका ईश्वरीप्रसाद आचार्य बताउँछन् । उनका अनुसार त्यसभन्दा अगाडि जान कठिन रहेको छ । तहतह परेर बनेको सो गुफाको करिब सय मिटर भित्रसम्म रहेको सुमेरु पर्वत र पञ्चपाण्डव क्षेत्रसम्म विद्युत् जडान गरिएको छ ।

सो स्थानसम्म सहज रूपमै भित्र जान सकिन्छ । पञ्चपाण्डव क्षेत्रको गुफा निकै सानो भएकाले सानो शरीर भएका व्यक्तिहरू घसारिएर मात्रै भित्र जान सक्छन् । सो स्थान पार गरेपछि भने फेरि फराकिलो बाटो रहेको देखिन्छ । त्यहाँबाट छिर्न नै कठिन हुने र सामग्रीहरू लैजान पनि कठिन हुने भएकाले त्यसपछिको भागमा विद्युत् जडान गरिएको छैन ।

२०१५ सालमा राजा महेन्द्रबाट सो गुफाको दर्शन गरेपछि गुप्तेश्वर गुफालाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न थालिएको हो । आन्तरिक पर्यटकको मात्रै आकर्षण रहँदै आएको गुफा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्पबाट केही मिटरको दूरीमा रहेको छ ।

पर्याप्त प्रचारप्रसारको कमीले बाह्य पर्यटकहरू भने आकर्षित हुन सकेका छैनन् । पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–४ रहेको गुप्तेश्वर गुफालाई नेपालकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने तयारीस्वरूप गुफासम्म जाने सिढीको बाटो निर्माण चरणमा रहेको छ । स्थानीय सरकारले पछिल्लो समय भौतिक संरचनाको पाटोमा ध्यान दिएको आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित